
काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गतवर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ ।
कोरोनाका कारण बोर्डले पूर्व निर्धारित जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित भएको थियो । एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिसकेको र ५ लाख १७ हजार विद्यार्थीको लागि २ हजार १९ परीक्षा केन्द्रसमेत तय भइसकेको थियो ।
करिब ४ लाख विद्यार्थी रहेका कक्षा १२ को परीक्षा पनि अन्योलमा छ । बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनका लागि अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको थियो । महामारीको अवस्था कायमै रहे कसरी अघि बढ्ने भन्ने मोडालिटी तय गर्न कार्यदलले सुझाव सहितको प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो । बोर्डले मन्त्रालयमा पठाएको प्रतिवेदन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो ।
गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।
मूल्याङ्कन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । जस अनुसार राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्कलाई मूल्याङ्कन समितिले बोर्डमा पठाएका थिए ।
गत वर्षको परीक्षाले विद्यार्थीको क्षमता मुल्याङ्कन गर्ने भन्दा विद्यालयले आफूखुशी पठाएको नतिजा प्रमाणिकरण गरेको भन्दै आलोचनासमेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्