१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केसी र श्रेष्ठले छाड्न नमानेपछि कार्की र भट्टराईद्वारा संवैधानिक इजलासबाट बाहिरिने घोषणा


0
Shares

मिरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनका सम्बन्धमा बहस गर्न गठन गरिएको सर्वोच्च अदालतको संवैधानिक इजलासबाट न्यायाधीशहरू दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले अलग हुने घोषणा गर्नुभएको छ ।

प्रश्न उठेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट नबाहिरिने अडान लिएपछि अर्का दुई न्यायाधीश कार्की र भट्टराई बाहिरिएका हुन् । दुई न्यायाधीश बाहिरिएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफूले अर्को इजलास गठन गर्ने जानकारी गराउनुभएको छ । साथै उहाँले अब हुने इजलास गठनको सन्दर्भमा प्रश्न नउठाउन अधिवक्ताहरूलाई आग्रह गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले अर्को इजलास जेठ २३ गतेलाई तोक्दै भन्नुभएकाे छ, ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनायर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस् ।’

प्रधानन्यायाधीश राणाले इजलासमा न्यायाधीश श्रेष्ठ र केसी माथि पटक–पटक प्रश्न उठेपछि बेन्चमा बस्ने वा नबस्ने निर्णय गर्न उहाँहरूलाई नै छाडिदिनुभएको थियो । तर, न्यायाधीश कार्की र श्रेष्ठले भने इजलास नछाड्ने अडान लिनुभएको हाे । प्रधानन्यायाधीश राणाको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरी सो विषयमा सुनुवाइ सुरु हुनासाथ दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अहिले बहस मुल मुद्दामा नभई सोहि विषयमा केन्द्रीत रहेको छ ।

नेकपा विभाजन गर्ने फैसला गरेका श्रेष्ठ र सोही फैसलाको पुनरावलोकनको मुद्दा हेरका केसी इजलासमा रहँदा संसद् विघटनको मुद्दा प्रभावित हुन सक्ने दावी कानुन व्यवसायीहरूको छ । विवादित न्यायाधीशहरू लाई हटाएर अरू नै निष्पक्ष न्यायाधीश राखिनुपर्ने उनीहरूकाे माग छ ।