
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतमा भइरहेको अस्वस्थ गतिवधि उचित नभएको निष्कर्ष निकालेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दवाव स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी भइरहेका अस्वस्थ गतिविधिको सन्दर्भमा समीक्षा गरेको छौं,’ बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले सिर्जना गरिएका दवावहरू स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल खाँदैनन्, यस्ता काम उचित होइनन् र यस्ता काम हुनुहुँदैन ।’
यस्तै बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न नेतृत्वको तर्फबाट अन्तिम समयसम्म प्रयास जारी राख्ने, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल, कोभिड–१९ रोकथामका लागि भइरहेका काम र लुम्बिनीको उपननिर्वाचनको समीक्षा गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्