
रोमन आचार्य
काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले आफूहरूलाई कारबाही गर्ने अधिकार नभएको महन्थ ठाकुर समूहले प्रतिक्रिया दिएको छ ।
ईमेज टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लक्ष्मणलाल कर्णले हैसियत नभएको उपेन्द्र यादवले आफूहरूलाई कारबाही गर्ने अधिकार कसले दियो भन्दै प्रतिप्रश्न गर्नुभयो । पार्टीमा अनुशासन समिति भएको स्मरण गराउँदै उहाँले कार्यकारिणी समिति बैठकले गर्ने निर्णय एउटा व्यक्तिको सनकले पूरा नहुने प्रतिक्रिया दिनुभयो ।
यसैबीच समूहले कारबाहीको ब्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन अयोग पुगेर अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित अन्य नेताहरूलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुभएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यादव पक्षले जानकारीका लागि आयोगमा पत्र दर्ता गराउनुभएको हो । अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार आवश्यक कदम चाल्ने छ ।
यसअघि, मंगलबार बसेको बहुमत केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टी एकता र विधि विधान वर्खिलाप समानान्तर गतिविधि गरेको भन्दै यादव समूहले अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्र शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो ।
जसपा प्रचारविभाग प्रमुख डम्बर खड्काले जारी गरेको विज्ञप्तिका अनुसार जेठ ११ गते र १५ गते २४ घण्टा समय दिएर सोधिएको स्पष्टीकरणको प्रतिउत्तर नआएपछि १७ गते बसेको कार्यकारिणी बैठकले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको हो ।
प्रतिगमनकारी केपी ओलीको सरकारलाई साथ नदिने पार्टीको निर्णय विपरित ठाकुर समूहले ओलीलाई काँध हाल्नु पार्टी मर्म विपरित भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्