
काठमाडौं । कोरोनाको संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि गत वैशाख १६ गतेदेखि देशको विभिन्न स्थानमा सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा लगाइएको पनि एक महिना नाघेको छ ।
यसबीचमा संक्रमण दरमा अपेक्षाकृत सुधार आउन सकेको छैन । संक्रमण नियन्त्रणको लागि भन्दै सरकार निषेधाज्ञाको समय थप गर्ने तयारी गरिरहँदा सर्वसाधारणबाट उल्लंघन पनि उत्तिकै भइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ४० हजार भन्दा धेरै सवारीसाधन नियन्त्रणमा लिइएको छ । निषेधाज्ञा जारी भएको सुरुवाती समयमा दैनिक १ हजार सवारी साधन नियन्त्रणमा लिएको महाशाखाले पछिल्ला दिन दैनिक १५ सयदेखि २ हजार सवारी नियन्त्रणमा लिइरहेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले बाध्यात्मक अवस्थामा मात्रै कारबाहीको प्रक्रिया अघि बढाएको अधिकारीले बताउनुभयो । महामारीको अवस्थामा समेत सर्वसाधारणले जिम्मेपार नभएपछि आफूहरू कारबाहीका लागि बाध्य हुनुपरेको उहाँको भनाइ छ । दीपक श्रेष्ठको स्थलगत रिपोर्ट
प्रतिक्रिया दिनुहोस्