१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रणाली सुधार्ने मौका बन्नसक्छ कोभिड, तीन घण्टामा मूल्याङ्कन गर्न नहुनेमा शिक्षाविद्को जोड


13
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाट हुने मन्त्रिपरिषद्को निर्णयसँगै मूल्याङ्कनको शैली फेरिएको छ ।

विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । यसैको आधारमा बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ ।

गतवर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समितिले त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको ३० र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरिएको मोडल यसपटक पनि सदर गरियो । नेपालको शैक्षिक प्रणालीमा वर्षभरीको उपलब्धि ३ घण्टामा खोजिदै आएकोमा महामारीले प्रणाली सुधार्ने मौका दिएको शिक्षविद् डा. कृष्ण पौडेल बताउनुहुन्छ ।

विद्यालय तहबाट विश्वविद्यालय तहमा पुग्नुपर्ने भएकाले कक्षा १२ मा आन्तरिक रूपले नभइ परीक्षा अनिवार्य गर्नुपर्नेछ । एसईई र कक्षा १२ को परीक्षाको टुङ्गो नलागेसम्म नयाँ शैक्षिक सत्र कहिलेबाट हुने भन्ने अन्योल रहेको बताउने शिक्षा मन्त्रालयले नयाँ शैक्षिक शत्रको सन्दर्भमा छलफलमा रहेको जनाएको छ । यद्यपि सिकाइ उपलब्धि हासिल भएमा कक्षोन्नती गरी सिकाइ निरन्तर गर्न सकिने मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।

कतिपय स्थानीय तहले यथासम्भव विधिबाट मुल्याङ्कन गरी नतिजा प्रकाशनपछि कक्षोन्नती गर्न भनेका छन् । संकटको समयमा वैकल्पिक विधिबाट मुल्याङ्कन गर्न भनिए पनि नेपालमा वैकल्पिक भनिएको विधि अन्तराष्ट्रिय अभ्यासमा मुलधारमा रहेको शिक्षविद् डा. पौडेल बताउनुहुन्छ ।

शिक्षकलाई बढी जिम्मेवार बनाएर निर्माणात्मक मुल्याङ्कनका आधारमा विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिनुपर्नेमा शिक्षाविद्को जोड छ । कोभिडले सिर्जना गरेको अन्योल तीन घण्टामा शैक्षिक उपलब्धिको मापनको मापदण्ड सुधार्ने अवसर पनि हुनसक्छ ।