
काठमाडौं । एकता भएको एक वर्ष पुगेसँगै जनता समाजवादी पार्टी आधिकारिक रूपले विभाजनतर्फ उन्मुख भएको छ । पार्टीभित्र दुवै समूहले एकअर्कालाई कारबाही गरेसँगै पार्टी विभाजन प्रष्ट भएको हो ।
मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले आ–आफ्नो समूहको केन्द्रीय कार्यकारिणी बैठक बसेर एक अर्कालाई कारबाही गरेका हुन् । पार्टी एकता र विधिविधान बर्खिलाप समानान्तर गतिविधि गरेको भन्दै यादव समूहले महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाज शुक्ललाई पार्टीबाट निष्काशन गरेको छ ।

प्रचार विभाग प्रमुख डम्बर खड्काले विज्ञप्ति जारी गर्दै २ पटकसम्म स्पष्टीकरण सोध्दा पनि ठाकुर समूहले जवाफ नदिएको उल्लेख गर्नुभएको छ । यादव निकट नेता गंगा नारायण श्रेष्ठले प्रतिगमनकारी केपी ओलीको सरकारलाई साथ नदिने पार्टीको निर्णय विपरित ठाकुर समूहले ओलीलाई काध हालेपछि कारवाही गरिएको बताउनुुभयो । नेता श्रेष्ठले कारबाही जानकारी निर्वाचन आयोगलाई दिइसकेको जानकारी दिनुभयो ।
यादवसमूहको निर्णयलगत्तै ठाकुर समूहले पनि पार्टी विधान र अनुशासन नमानेको भन्दै उपेन्द्र यादवलाई कारवाही गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई कारवाही गर्दै निर्वाचन आयोगलाई जानकारी गराइएको नेता डा. सुरेन्द्र झाले जानकारी दिनुभयो ।

अयोगमा दर्ता गराइएको पत्रमा दल दर्ताको किताबबाट उपेन्द्र यादवको नाम हटाएर अद्यावधिक गर्नसमेत अनुरोध गरिएको छ । कारबाहीमा पर्नुभएका नेता लक्ष्मणलाल कर्णले उपेन्द्र यादवलाई कारबाही गर्ने अधिकार नभएको टिप्पणी गर्दै हैसियत नभएका यादवलाई कारबाही गर्ने अधिकार कसले दियो भन्दै प्रतिप्रश्न गर्नुभयो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै समूहले निवेदन दर्ता गराएको जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार आवश्यक कदम चाल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्