
काठमाडौं । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताइपेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुनेछ ।
चाईनिज ताइपेविरुद्धको हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशबीच अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । जारी विश्वकप छनाेटको पहिलो लेगको खेलमा नेपालले चाइनिज ताइपेलाई उसैको मैदानमा २–० ले हराएको थियो ।
नेपाल सोही लय दोहोर्याउने अभियानमा रहेको छ । नेपालले अर्को वर्ष हुने विश्वकप फुटबल छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै सन् २०२३ मा हुने एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।
चाइनिज ताइपेपछि नेपालले अष्ट्रेलिया र जोर्डनसँग दुई खेल खेल्न बाँकी छ । समूह ‘बी’ मा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेको छ भने अंकविहीन चाइनिज ताइपे पुच्छारमा रहेको छ । ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्