२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आफ्नो स्वास्थ्यको चिन्ता लिने र कोभिडविरुद्ध अग्रपंक्तिमा खट्नेहरूलाई पूर्वराजाद्वारा धन्यवाद (भिडियो)


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहदेव र रानी कोमल राज्यलक्ष्मीदेवी शाहले आफूहरूको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ ।

बिहीबार नातिा हृद्येन्द्र विरविक्रम शाहदेवको इन्ट्राग्राममार्फतक एक भिडियो जारी गर्दै पूर्व राजा शाहले आफूहरूको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गर्नुभएको हो ।

‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर, देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ’, उहाँले भिडियोमा भन्नुभएको छ ।

पूर्वराजा शाहले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

साथै उहाँले देशलाई संकट परेको बेलामा सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि धन्यवाद दिनुभएको छ । महामारीबाट जोगिन सावधानी अपनाउन पनि आग्रह गर्नुभएका शाहले उपचारको क्रममा रहेकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यस्तै, कोभिड–१९ का कारण निधन भएकाहरूको चीरशान्ति र उनीहरूको परिवारजनमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्राथना गर्नुभएको छ ।

भारतको कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्व राजदम्पतीलाई कोभिड देखिएको थियो । उहाँहरू दुवैलाई दुई साताको अस्पताल बसाइपछि घर फर्काइएको थियो ।