
प्रदीप पौडेल
पोखरा । कोभिड–१९ संक्रमणका कारण निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा पूरा नहुने निश्चित भएको छ ।
पोखरा विमानस्थल निर्माण सक्नका लागि २०२१ जुलाई १० अन्तिम समय तोकिएको थियो । अबको एक महिना मात्र बाँकी रहँदा काम सकिने अवस्था नरहेको विमानस्थल आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थल निर्माणका लागि तोकिएको समय अबको एक महिना मात्र बाँकी रहेकोले यो समय अपुग हुने बताउनुभयो । त्यसैले म्याद थप्नैपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
‘ठेकेदार कम्पनीले २०२१ को डिसेम्बरसम्म काम सक्ने भनेको छ,’ मुनकर्मीले भन्नुभयो, ‘कोरोनाका कारण काममा ढिलाइ भएकै हो, कम्तिमा ६ महिना पछाडि धकेलिने निश्चित छ ।’
ठेकेदार कम्पनीले एकवर्ष म्याद थपका लागि आग्रह गरे पनि डिसेम्बरसम्म सक्ने वाचा गरेको आयोजनाका पदाधिकारीको भनाइ छ । अहिलेको भन्दा अझै खराब अवस्था नआएमा २०२२ मा पोखराको यो विमानस्थलबाट व्यावसायिक उडान सुरु हुने उहाँको भनाइ छ ।
‘विमानस्थल निर्माण सकिए पनि सञ्चालनमा आउँदा केही महिना लाग्छ । त्यसैले २०२२ मा हामीले व्यावसायिक उडान थाल्ने लक्ष्य राखेका छौं,’ मुनकर्मीले भने । मुनकर्मीका अनुसार विमानस्थलको भौतिक निर्माणको काम करिब सकिएको छ । उपकरण जडानका काम भइरहेको छ ।
कोरोनाका कारण उपकरण अभाव छ । विमानस्थलका लागि चाहिने उपकरणहरू अमेरिका, अष्ट्रेलिया, चीन लगायतका मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक पनि विदेशी नै हुने र उनीहरू तत्काल आउन सम्भव नभएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उहाँले बताउनुभयो ।
आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म ७८ प्रतिशत काम सकिएको छ । १५ प्रतिशत काम उपकरणको जडानमा पर्छ । बाँकी काम पनि सकिन धेरै समय नलाग्ने पौडेलले बताउनुभयो । ‘लामो समयको लकडाउनले गर्दा बेलैका काम नसकिएको हो । विमानस्थलको सौन्दर्यकरण, ढल, नालाका सामान्य काम मात्र भौतिकपूर्वाधारतर्फ बाँकी रहेको उहाँले बताउनुभयो ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो ।
अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठूला र ८ आन्तरिक उडानका गरी ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ ।
वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बन्दैछ । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ ।
प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।
चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्