१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालको अनुसन्धान र अन्वेषणको वर्तमान अवस्था


26
Shares

डा. कृष्णप्रसाद पौडेल
हरेक नेपाली जो विदेशमा बस्छ वा नेपालमा नै छ उसको मनमा नेपालमा भैरहेको प्राज्ञिक कसरत (Academic Exercise) माथि यी प्रश्नहरू उठ्न सक्छन ! (१) के नेपालमा अनुसन्धान नभएको नै हो त ? (२) प्राज्ञिक उत्खननमा नेपालको वर्तमान अवस्था कस्तो छ ? (३) नेपालमा भएका अनुसन्धानलाई किन जीवन र जिविकोपार्जनसँग जोडन सकिएन ? यो आलेख यिनै विषयवस्तुमा आधारित भएर तयार गरिएको छ ।

२१ औं शताव्दिमा ज्ञान अर्थव्यवस्थाको लागि बौद्धिक पुँजी एक महत्त्वपूर्ण सम्पत्ति मानिन्छ, जुन प्राज्ञिक कसरत मार्फत प्राप्त हुन्छ । कुनै पनि देशको ज्ञान अर्थ व्यवस्थाको मूल्याङ्कन, मापन र व्यवस्थापन त्यस देशमा हुने अनुसन्धानले निर्धारण गर्ने गर्दछ । बौद्धिक पुँजीको मापन वैज्ञानिक पत्रिकाहरूमा हुने अनुसन्धानमुलक लेख तथा रचनाहरूको प्रकाशन, समसामयिक विषयवस्तुमा लेखिएका पुस्तक तथा रिपोर्टहरू साथै अन्तराष्ट्रिय जगतमा हुने गरेका सभा तथा सम्मेलनहरुमा सहभागिता साथै अनुसन्धानमुलक लेखको प्रस्तुतिले जनाउँदछ ।

कुनै पनि देशको प्रज्ञिक कसरत त्यस देशका प्राज्ञिक व्यक्ति भन्दा पनि प्राज्ञित व्यक्ति संलग्न संस्थाले गर्ने अनुसन्धान र अन्वेषणले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । कुनै पनि देशमा भएको प्राज्ञिक उत्खननले त्यस देशको प्राज्ञिक आधारलाई मापन गर्ने गर्दछ । प्राज्ञिक अनुसन्धानात्मक गणाङ्कको लागि https://www.elsevier.com ले पाँच वटा कुरालाई उल्लेख गरेको छ । जस अनुसार Cite-Score Matrix, SJR, SNIP, JIF र h-index रहेका छन् ।

Cite-Score Matrix: Cite-Score Matrix ले कुनैपनि जर्नलले विगत ४ वर्षको अवधिमा प्रकाशित गरेका लेख तथा रचनाहरू र तिनले प्राप्त गरेको उद्धरणको संख्याको आधारमा उद्धरणको गणना गर्ने गर्दछ । संसारभर प्रकाशित अनुसन्धानात्मक लेख तथा रचनाहरूमा उद्धरण (Citation) गरिएका अन्य लेख तथा रचनाहरूको भण्डारण (Database) बनाइ प्रति लेख तथा रचनाको औषत उद्धरणलाई मापन गरी कुनै एक जर्नलको Cite-Score Matrix तयार हुने गर्दछ ।

SCImago Journal Rank (SJR): SJR मापन गर्दा वैज्ञानिक अनुसन्धानमा आधारित लेख तथा रचनाहरूले गरेको उद्धरण (Citation) र प्रख्यात जर्नलले प्राप्त गरेको उद्धरण समेतलाई आधार मानि कुनै पनि जर्नलको Rank मापन गर्ने गर्दछ ।

Source Normalized Impact per Paper (SNIP): SNIP ले क्षेत्रगत आधारमा उद्धरण (Citation) अभ्यासको मापनलाई हेर्ने गरेको पाइन्छ । SNIP ले प्रकाशिक लेख तथा रचना भन्दा पनि प्रकाशनको समष्टिगय उद्धरणलाई आधार मानि प्रकाशनको प्रभाव (Impact) मापन गर्दछ । यसरी मापन गर्दा यसले प्रासंगिक उद्धरण प्रभावको आधारमा विभिन्न विषय फाँटका पत्रिकाको तुलना गर्दछ । यस्तो तुलनालाई बार्षिक रूपमा उपलव्ध गराइ प्रकाशनको Impact मापन गर्ने गर्दछ ।

Journal Impact Factor (JIF): JIF मापन गर्दा Clarivate Analytics प्रयोग गरी कुनै पत्रिकाले अघिल्लो दुई वर्षमा प्राप्त गरेको औषत अंकको आधारमा यस बर्षको अंकलाई हेरिन्छ र सोको मापनलाई आधार बनाइ Journal को Impact Factor प्रदान गर्ने गरिन्छ ।

h-index: h-index उद्धरण प्रभावको एक समग्र अंक हो । अनुक्रमणिका प्रकाशन (h) को ठूलो संख्याको रूपमा h लाई परिभाषित गरिएको छ जसको लागि आजीवन उद्धरणहरू h भन्दा ठूलो वा बराबर हुन्छ ।

कुनै पनि देशका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानको प्रकाशनलाई माथि उल्लेख गरिएका ५ (पाच) वटा विषयवस्तुमा रहेर मुल्याङ्कन गर्ने गरिन्छ । यिनै विषयवस्तुको आधारमा नेपालको अनुसन्धानको अवस्था के-कस्तो छ, यसको बारेमा तल उल्लेख गरिएको छ ।  संसार भरिका सबै देशहरूले गरेको अनुसन्धानको तथ्याङ्क scimagojr.com मार्फत हेर्न सकिन्छ ।

scimagojr.com को Country Rank मा नेपाल ९१ औं स्थानमा रहेको पाइयो । यहि वेभसाइटमा उल्लेख भए बमोजिम सन १९९६ देखि २०२० सम्म नेपालमा २० हजार २ सय ६ वटा अनुसन्धानात्मक लेख तथा रचनाहरू प्रकाशित भएको पाइयो । जसमध्ये उद्धरण गर्न मिल्ने लेख तथा रचनाहरुको संख्या १९ हजार ९ सय ६९, हालसम्म भएको जम्मा उद्धरण २ ला ६५ हजार ७ सय ३६, स्वयं उद्धरण गरिएका लेख तथा रचना ३२ हजार ७ सय १८, उद्धरण प्रति लेख तथा रचना १३.२४ र h-index १ सय ५९ रहेको छ । तल दिइएको टेबलमा सन १९९६–२०२० सम्मको जम्मा र  सन २०१५ देखि सन २०१९ सम्म गरी ५ वर्षको तथ्याङ्कलाई प्रस्तुत गरिएको छ ।

यो पाच बर्षको डाटालाई हेर्दा Country को Rank २०१५ भन्दा २०१९ मा घटेको पाइयो । अनुसन्धानात्मक लेखहरूको संख्या क्रमशः बढ्दै गएको पाइयो । जबकि उद्धरण गरिएको संख्या, स्वयं उद्धरण र उद्धरण प्रति लेख तथा रचना सन् २०१८ र सन् २०१९ मा धेरै मात्रमा घटेको पाईन्छ । स्वयं उद्धरण घट्नु राम्रो कुरा भए पनि उद्धरण र उद्धरण प्रति लेख घटनु राम्रो कुरा होइन । सन् १९९६ मा १०० वटा लेख तथा रचना प्रकाशित भएको देखिन्छ । यस्तैः सन् २००० मा १ सय ९६, सन् २००५ मा ४ सय ७७, सन् २०१० मा ७ सय ३९ र सन् २०१४ मा १ हजार ५९ वटा लेख तथा रचनाहरू प्रकाशित भएको scimagojr.com को Database ले देखाउँछ ।

अब छलफल गरौं के scimagojr.com मा रहेको नेपालको Country Rank सन्तोषजनक हो त ? यसको लागि हामिले नेपालको जनसंख्यालाई हेर्नुपर्ने हुन्छ । worldometers.info मा उल्लेख भए अनुसार नेपालको जम्मा जनसंख्या २ कराेड ९१ ला ३६ हजार ८ सय ८ (४९ औं स्थानमा) रहेको छ । स्मरण रहोस worldometers.info को सूचनाको आधारमा नेपालको जनसंख्या संसारको कुल जनसंख्यको ०.४% हुन आउँछ । यो वेभसाइटले नेपालको क्षेत्रफल जम्मा १ लाख ४३ हजार ३ सय ५० वर्ग किलोमिटर उल्लेख गरेको छ जुन हामीले पढदै आएको (१ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर) भन्दा ३ हजार ८ सय ३१ वर्ग किलोमिटर कम हो ।

नेपाल भन्दा कम जनसंख्या भएका युरोपियन, अफ्रिकन र मध्यपूर्वी देशहरू अनुसन्धान र अन्वेषणको क्षेत्रमा धेरै नै अगाडी रहेको पाइयो । साइमागोको सुचनाको आधारमा अष्ट्रेलिया (१० औं), स्विजरल्याण्ड (१३ औं), नेदरल्याण्ड (१४ औं), स्विडेन (१८ औं), बेल्जियम (२२ औं), डेनमार्क (२३ औं), अष्ट्रिया (२४ औं), ईजरायल (२५ औं), फिनल्याण्ड (२६ औं), चेज रिपब्लिक (२७ औं), नर्बे (२९ औं), ग्रिस (३० औं), पोर्चुगल (३२ औं), सिंगापुर (३४ औं), न्युजिल्याण्ड (३६ औं), आयरल्याण्ड (३९ औं), रोमानिय (४० औं), हंगेरी (४३ औं), चिली (४६ औं), स्लोभाकिया (४८ औं), क्रोस्टिया (५० औं), सोल्भिनिया (५२ औं), सर्विया (५३ औं), ट्युनिसिया (५४ औं), बुल्गेरिया (५५ औं), संयुक्त अरब ईमिरेट्स (५९ औं), लिथुनिया (६१ औं), जोर्डन (६२ औं), ईस्टोनिया (६३ औं), क्युवा (६४ औं),  भेनेजुयला (६५ औं स्थान), बेलारुस (६७ औं), लेबनान (७० औं), कतार (७१ औं), साईप्रस (७२ औं), काजकास्तान (७४ औं), कुवेत (७६ औं), लतभिया (७७ औं), आइसल्याण्ड (७८ औं), ईक्वेटर (७९ औं), श्रीलंङ्का (८१ औं), लक्जमबर्ग (८२ औं), ओमान (८३ औं), उरुग्वे (८४ औं), जर्जिया (८५ औं), अर्मानिया (८९ औं), क्यामेरोन (९० औं) स्थानमा रहेका छन । माथि उल्लेख गरिए बमोजिम नेपाल जनसंख्याको हिसाबले ४९ औं नम्बरमा र scimagojr.com मा उल्लेख भए बमोजिम अनुसन्धानको Country Rank मा ९२ भएकोले नेपालले अनुसन्धान र अन्वेषणको क्षेत्रमा धेरै काम गर्न बाकी छ भन्ने कुरालाई जनाउँदछ ।

नेपालमा भएका अनुसन्धान तथा अन्वेषणले आम मानिसको जीवन र जीविकोपार्जनसँग सम्बन्धित विषयवस्तुलाई जोडका साथ उठान गर्न सकेका छैनन् भन्ने कुरा scimagojr.com मा   नेपालका जम्मा ४ (चार) वटा जर्नलहरु SJR मा दर्ता हुनुले जनाउँदछ । ति सबै जर्नलहरू पनि स्वास्थ्य विज्ञान (Medical Science) क्षेत्रसंग सम्बन्धित रहेका छन । ति जर्नलहरूमाः Journal of Nepal Health Research Council, Journal of the Nepal Medical Association, Kathmandu University Medical Univerity, and Journal of Nepal Paediatric Society रहेका छन् । 

यो सूचनाले के पनि जनाउँछ भने नेपालमा विशेष गरी विज्ञान, ईन्जिनियरिङ्ग, व्यवस्थापन र सुचना प्रविधिको क्षेत्रमा अनुसन्धानको काम न्यून मात्रामा भएको छ । आर्थिक सहयोग र विकासका लागि संगठन (Organization for Economic Co-operation and Development) ले मानव पुँजी (Human Capital) तथा बौद्धिक पुँजी (Intellectual Capital) लाई राष्ट्र विकासको मेरुदण्डको रूपमा लिएको छ ।

बौद्धिक पुँजीले विभिन्न क्षेत्रहरू जस्तै व्यवस्थापन, मनोविज्ञान, अर्थव्यवस्था, समाजशास्त्र, स्वास्थ्य, बौद्धिक सम्पत्ती साथै दिगो विकासलाई महत्वका साथ लिएको पाइन्छ । बौद्धिक पुँजी र ज्ञान अर्थ व्यवस्थाको आधारले कुनै पनि देशको विकासको आधार स्तम्भ तयार गर्दछ । हामीले हाम्रा विश्वविद्यालयहरूलाई हाम्रो आवश्यकता र दिगो विकासको लागी अनुसन्धान र अन्वेषणको क्षेत्रमा काम नै गर्न सिकाएनौं ।

एकातिर दिगो भविष्य निर्माण गर्नको लागि हामीलाई डेटा भन्दा बढी अनुसन्धान गर्ने आधार, रिपोर्टहरू र ड्यासबोर्डहरू आवश्यक पर्दछ भने अर्कोतर्फ मानव पुँजीको प्रबन्ध गर्नु जरुरी छ । मानव पुँजीको प्रबन्धले देशलाई आवश्यक पर्ने अनुसन्धान र अन्वेषणको खाका कोर्न मद्धत गर्दछ । यदि त्यसो गर्न सकियो भने मात्र हामीले गरेका अनुसन्धानले आम नेपालीको जीवनस्तर उकास्न सहयोग पुर्याउदछ ।

अतः अब नेपालका विश्वविद्यालय, रिसर्च ईन्टिच्युट, रिसर्चर लगायतले आम मानिसको जीवनसँग सम्बन्धित मुद्दा र विषयवस्तुको घेरामा रहेर अनुसन्धान तथा अन्वेषण गर्ने हो भने पक्कै पनि हामीले गरेका अनुसन्धानले आम नागरिकको सुनौलो भविश्य तयार गर्न र देशको विकासको मार्ग प्रस्तुत गर्ने खाका तयार गर्न सक्दछ ।

पौडेल नेपाली कांग्रेस शिक्षा विभागको सविच एवं ज्ञान व्यवस्थापन विज्ञ हुनुहुन्छ ।