
रोमन आचार्य
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले औपचारिक विभाजनको साइत कुरेर बसेको छ । झलनाथ खनाल र माधव पक्षीय केन्द्रीय सदस्यहरूको आजको भर्चुअल बैठकमा पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्नुपर्ने सुझावहरू आएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको अपहेलना र प्रतिगमनलाई परास्त गर्न नयाँ पार्टी घोषणामा केन्द्रीय सदस्यहरूले जोड दिएको बैठकमा सहभागी नेता विरोध खतिवडाले जानकारी दिनुभयो । पार्टीभित्र अन्तरसंघर्ष गर्नुपर्ने र दुई–चार दिन समय लिएर अध्यक्ष केपी ओली पक्षसँग संवाद गर्नुपर्ने सुझाव पनि केन्द्रीय सदस्यहरूले दिएका छन् ।
छलफलमा नेता माधव कुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरूसँग भएको संवादबारे जानकारी गराउनुभएको थियो । नेता नेपालले अध्यक्ष ओली सच्चिने संकेत नदेखिएको र वार्ता, छलफलका नाममा फेरि झुक्याउन खोजेको कुरा दोहो¥याउनुभएको थियो ।
यसअघि बिहीबार नै खनाल–नेपाल समूहनिकट १७ वटा भातृ संगठनहरूले नयाँ पार्टी घोषणा गर्नुपर्ने माग गरेका छन् । पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने उनीहरुको माग छ ।
संगठनहरुको बुधबार बसेको बैठकको निर्णय बिहीबार विज्ञप्तिमार्फत सार्वजनिक गर्दै उनीहरूले ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले संघीय लोकतान्त्रिक व्यवस्था र संविधान संकटमा परेको भन्दै पार्टी विधानविपरीतका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको उल्लेख गरेका छन् ।
यता ओली समूहले भने माधव नेपाल, भीम रावल लगायतका नेताहरू बाहेकमात्र पार्टी एकता सम्भव हुने बताएको छ । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै ओलीनिकट नेता कर्ण थापाले पार्टी विभाजन गरेर जानेलाई अब रोक्न नसकिने प्रतिक्रिया दिनुभयो । पार्टी एकता अन्तिम समयसम्म कायम राख्न ओलीले पहल गरे पनि केही अराजक नेताहरू समावेश भएर अब एकता सम्भव नभएको उहाँको तर्क छ ।
यता, नेता विशाल भट्टराईले पनि पार्टी एकताकै लागि पटक–पटक स्थायी कमिटी बैठकलाई पर सारेर प्रयास गरिए पनि अब सम्भावना टर्दै गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्