
एजेन्सी । १२ वर्षसम्म सत्तामा राज गरेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरूलाई अपिल गर्नुभएको छ ।
बुधबार साँझ इजरायलका आठ विपक्षी पार्टीहरूले मिलेर नयाँ सरकार बनाउन सहमति गरेपछि नेतन्याहूले यस्तो अपिल गर्नुभएको हो । तर, अलग–अलग विचारधारा भएका यी पार्टीले सत्ता सम्हाल्नका लागि बहुमत सावित गर्नुपर्ने हुन्छ ।
विपक्षी दलहरूको गठबन्धन बनेको घोषणा भएपछि दिएको पहिलो अभिव्यक्तिमा नेतन्याहूले भन्नुभएको छ, ‘दक्षिणपन्थी मतदाताहरूको भोटबाट चुनिएका सांसदहरूलाई गठबन्धनको विपक्षमा मतदान गर्न अपिल गर्दछु ।’
आफे ट्वीटमा उहाँले विपक्षी गठबन्धनलाई ‘लेफ्ट विङ्ग’ र ‘खतरनाक’ भन्नुभएको छ । यसअघि बन्न लागेको गठबन्धलाई पनि नेतन्याहूले ‘शताब्दीकै सबैभन्दा ठूलो फर्जी’ बताउनुभएको थियो । साथै उहाँले गठबन्धन देशका लागि खतरा भएको टिप्पणी गर्नुभएको थियो ।
मार्चमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको नेतन्याहूको लिकुड पार्टीले बहुमत भने ल्याउन सकेन । त्यसपछि उहाँले गठबन्धनको प्रयास गरे पनि सफल हुन सक्नुभएन । आफ्नो पक्षमा बहुमत नभएसँगै नेतन्याहू विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिने रणनीतिमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्