१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकाले ५० लाख डोज खोप दिने भयो भन्दै हल्ला मच्चाउने राष्ट्रपति र प्रधानमन्त्रीका सूचना सल्लाहकारले मेटे ट्वीट


0
Shares

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले अमेरिकाले ५० लाख डोज खोप दिने भन्दै गरेका ट्विट मेटाएका छन् ।

राष्ट्रपतिका प्रेस विज्ञ टिका प्रसाद ढकाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले राष्ट्रपति र प्रधानमन्त्रीको अथक प्रयासले अमेरिकाले ५० लाख डोज खोप दिने भयो भन्दै गरेका ट्विट मेटाएका हुन् ।

केही समयअघि अमेरिकास्थित नेपाली राजदूत युवराज खतिवडामार्फत् राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई खोपका लागि अनुरोध गर्दै पत्र पठाउनु भएको थियो ।

यस्तै, बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देश छन् ।

दक्षिण एसियामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान छन् । त्यस्तै, दक्षिण–पूर्वी एसियामा मलेसिया, थाइल्यान्ड, म्यान्मार, सिंगापुर, इन्डोनेसिया, पूर्वी टिमोर, भियतनाम, कम्बोडिया, लाओस, फिलिपिन्स र ब्रुनाई छन् । अहिलेसम्म अमेरिकाले नेपाललाई यति नै डोज खोप दिने बताएको छैन् ।

राष्ट्रपति भण्डारीले पत्र पठाउनु र बाइडेनले खोप दिने घोषणा गर्नुले ५० लाख डोज खोप नेपाललाई अमेरिकाले सहयोग गर्न लागेको ढकाल र थापालाई अनुभुति भयो । त्यसैले ढकालले बिहीबार र थापाले शुक्रबार ५० लाख डोज खोप आउँदै भन्दै ट्विट गरेका थिए ।

राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले यस्तो ट्विट गरे, `सम्माननीय राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड १९ खोप प्राप्तिका लागि अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्विकार गर्दै अमेरिकाले ५० लाख डोज खोप उपलब्ध गराउने जनाएको छ ।`

राष्ट्रपतिका सञ्चारविज्ञ ढकालले उक्त ट्विटलाई मेटाउँदै कुनै माफी नमागी बिहीबार नै अर्को ट्विट गर्नुभएको छ । उहाँले भन्नु भएको छ, `मैले उल्लेख गरेको परिणमलाई म तत्काल सच्याउन चाहान्छु! यो परिणाम हाम्रो अपेक्षा र अनुरोध हो ।`

राष्ट्रपतिका सञ्चारविज्ञले उक्त ट्विट हटाएर अर्को ट्विट गरिसक्दा पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले फेरि उस्तै विवादस्पद ट्विट शुक्रबार बिहान गर्नुभयो ।

उहाँले ट्विट गर्दै लेख्नुभयो, `तिहाइ खोपको व्यवस्थापनः अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान-१० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद-१० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज। बधाई सरकार।`

थापाले राष्ट्रपतिका सञ्चारविज्ञले सच्याएको ट्विटबारे कुनै ख्याल नै नगरी यस्तो ट्विट गर्नु भएको हो ।

थापालाई ट्विटर प्रयोगकर्ताले खोपबारे अनैतिक भ्रम छरेको भन्दै प्रश्न गर्न थालेपछि उहाँले पनि आफ्नो ट्विट मेटाउनुभएको छ ।

उहाँले माफी पनि नमागी शुक्रबार नै दुईवटा ट्विट गर्नुभएको छ । तीन घण्टा अघि उहाँले गर्नुभएको ट्विटमा लेखिएको छ, `तथ्यांक लेख्न उचित लागेन-हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।`

यस्तै यो ट्विट गरेको एक घण्टापछि उहाँले लेख्नुभएको छ, `पाखण्डीपन-छल, धोका ।`

यसरी देशका प्रमुख व्यक्तिका सञ्चारविज्ञ र सल्लाहकारले भ्रामक सूचनाको प्रचार गर्दा आफैले लेखेको ट्विटसमेत हटाउनु परेको छ । यसमा उहाँहरुले अलिकति लाज नमानेर माफी पनि माग्नु भएको छैन् ।

उल्टै थापाले त परिवारका सबैले खोप लगाइ सुरक्षित भएकाले राष्ट्रपतिको विरोध गर्नु पाखण्डीपन भएको ट्विट गर्नु भएको छ ।