
बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ ३१ । प्रदेश नम्बर–७ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि सार्वजनिक गर्न लागेको बजेट यथार्थपरक रहने जनाएको छ ।
बजेटको पूर्वसन्ध्यामा बिहीबार धनगढीमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गर्दै शतप्रतिश कार्यान्वयन गर्नसकिने यथार्थपरक बजेट ल्याउन लागेको जनाएको हो ।
बजेट महत्वाकांक्षी नहुने आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जिकिर गरे ।
आगामी बजेटमा कुनैपनि महत्वाकांक्षी योजना, कार्यक्रमलाई नसमेटेको भन्दै उनले बजेट सजिलै कार्यान्वयन गर्नसकिने यथार्थपरक रहने उल्लेख गरे ।
उनले करिब २५ अर्ब रुपैयाँको बजेट आउनसक्ने जानकारी दिए ।
शुक्रबार (भोलि) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सो बजेट प्रस्तुत् गर्ने तयारी गरिएको छ ।
बजेटले कृषि, पर्यटन, भौतिक निर्माण, स्वरोजगार, सामाजिक विकास/सुरक्षाजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको मन्त्री बोहराले बताए ।
यसैगरी, प्रदेशमा स्वदेशी तथा विदेशी लगानीको उद्योग स्थापनार्थ प्रदेश सरकारले करछुटमा नीतिगत व्यवस्था गरेको जनाइएको छ ।
उद्योग स्थापनाबिना प्रदेशको समृद्धि असम्भव रहेकाले करमा छुट, बिजुली, पानीलगायतमा सहुलियत दिने नीतिगत व्यवस्था बजेटमा गरिएको मन्त्री बोहराले जानकारी दिए ।
उद्योगमा लगानी, रोजगारी प्रदानको अवस्था र आयात प्रतिष्ठापनलाई आधार बनाएर करछुटको नीतिगत व्यवस्था हुने उनको भनाइ थियो ।
महिला, दलित, जनजाति, राजी, राउटे, पिछडिएका वर्गलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउने प्रदेश सरकारको योजनाअनुरुप सामाजिक सशक्तिकरणका लागि बजेट विनियोजन गरिएको जनाइएको छ ।
यसैगरी, कृषिमा आधुनिकीकरण हुने कार्यक्रमहरुलाई प्राथमिकता दिएको पनि उद्घोष गरिएको छ ।
मुलुकमा संघीयताको जग बसाल्नेक्रममा प्रदेश सरकारले प्राथमिकताका आधारमा सबैलाई अनुभूति हुने खालको बजेट तयार पारेको दाबी मन्त्री बोहराले गरे ।
उनले व्यवसायीलाई अप्ठ्यारोमा नपार्ने गरी प्रगतिशील करको दर र दायरा बनाएकोसमेत उल्लेख जानकारी दिए ।
संसारको जुनसुकै देशको सरकारले कर लिने अभ्यास हुँदै आएको बताउदै आर्थिक मामिला तथा योजनामन्त्री बोहराले व्यवसायीलाई कुनै किसिमको अप्ठ्यारोमा नपार्ने, हतोत्साहित नगर्ने गरी प्रगतिशील करको दर र दायरा निर्धारण गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्