
काठमाडौं । नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् । आयात गरिएकामध्ये ३९ वटा जातका बीउ भारत र बाँकी सातवटा जात चीनबाट आयात भएको केन्द्रले जानकारी दिएको छ ।
आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बीउ आयात हुने क्रम जारी रहेको बताइएको छ । नेपालमा धानखेती हुने १३ लाख ५० हजार हेक्टर जमिनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । यसमा निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंशा ओगटेका छन् ।
नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आफ्नै स्थानीय बीउ पनि प्रयोग गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्