१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उज्वल थापा : परिचय, राजनीतिक लाइन र चर्चा


0
Shares

प्रकाश डोटेल
परिचय–
स्याङ्जाको साविक दरौं गाउँ विकास समिति वडा नं. ७ हालको अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारीका उदयबहादुर गोदार थापा र शान्ता थापा(रायमाझी)का जेठा छोरा उज्वल गोदार थापाको २०३३ पुस महिनामा थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा जन्म भएको हो ।

थापाले काठमाडौंस्थित भोटेवाहलमा रहेको अरनिको बोडिङ् स्कुलमा १ देखि ३ कक्षासम्म र त्यसपछि ४ कक्षादेखि उच्च मावि स्तरसम्मको अध्ययन बुढानीलकण्ठ स्कुलमा गर्नुभएको हो । त्यस लगत्तै उच्च शिक्षा हासिल गर्नकोे लागि अमेरिका जानुभएका थापा प्राविधिक विषयमा उच्च शिक्षा आर्जन गरेपछि केहि सयम अमेरिकमा रोजगार गरेर २०६४ मा स्वेदश फर्कनुभयो ।

राजनीतिक लाइन-
थापाका बुवा उदयबहादुर नेपाली कांग्रेस प्रतिबन्धित हुँदा नै कांग्रेसमा सक्रिय नेता हुनुहुन्थ्यो । वीपी कोइरालालाई भेट्न बनारस पुगेर लामो समय उतै बिताउनुभएका उनी राष्ट्रिय मेलमिलापको नीति अनुरुप नेपाल फर्कनुभयो । २०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्र आएपछि गणतन्त्र वीपीको सिद्धान्त नभएको भन्दै उदयबहादुर कांग्रेसबाट अलग हुनुभयो ।

कांग्रेसी रहनसहनमा हुर्केका उज्वल थापा अमेरिकाबाट स्वदेश फर्किएपछि विवेकशील नेपाली समूह स्थापना गर्दै त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको शुभारम्भ गर्नुभयो । उहाँको नेतृत्वमा विवेकशीलले ‘नेपाल बन्द छैन’ भन्ने उद्घोष, हत्या हिंसामा आधारित राजनीतिक वातावरणलाई शान्त र सुसंस्कृत बाटो देखाउने अभियान र स्वास्थ्य र शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्ने नेपालीहरूको मन छुने नारा दिएर अगाडी बढ्नुभयो ।

पहिलो संविधानसभामा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका विवेकशील केही सदस्यहरू समय अन्तरालसँगै दोस्रो संविधानसभा राजनीतिक पार्टीका रूपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिए । उनीहरूले तत्कालिन समयमा मतदाताको उल्लेख्य मत हासिल गर्न नसके पनि चर्चा भने राम्रै पाए ।

‘नेपालको संविधान २०७२’ बनेपछिको पहिलो आम चुनावमा रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र थापाले हाकेको विवेकशील नेपाल दल मिलेर बनेको विवेकशील साझा पार्टीमार्फत उनीहरूले चुनावमा भाग लिए । स्याङ्जाली थापा र पत्रकारिता क्षेत्रका मिश्र पार्टीको सहअध्यक्ष बने पनि केही समयमै एकता तोडियो ।

राजनीतिक उपलब्धीलाई हासिल गर्दै जाँदा नेताको प्रवृत्तिमा आमुल परिवर्तन र नेताले होइन की जनताले परिवर्तनको अनुभूूति गर्नुपाउनुपर्छ भन्ने आचरणका पक्षपाती थापा नेपाली राजनीतिमा प्राप्त उपलब्धीलाई परिष्कृत शैलीबाट उपभोग र उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने शालिन र भद्र शैलीका राजनीतिज्ञ थिए ।

चर्चा-
विकेकशील साझा पार्टीका नेता उज्वल थापाको जेष्ठ १८ गते मंगलबार निधन भयो । युवा अवस्थामै मधुमेहका कारण थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ४४ वर्षको उमेरमा निधन भएको हो ।

थापालाई कोभिड–संक्रमण सँगै निमोनिया देखिएपछि ग्रान्डी अस्पतालमा उपचार गर्दागर्दै (एक्मो) विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भए पनि थापाको मृत्यु हुनुभन्दा अघिल्लो दिनको रिर्पोट नेगेटिभ आएको थियो ।

थापालाई संक्रमण भएको पुष्टि भएसँगै सामाजिक सञ्जालमा उहाँको स्वास्थ्य लाभको कामनासहितको सन्देशबाट ठूलो सख्ंख्याले शुभेच्छा प्रकट भयो । थापाको उपचारको लागि आर्थिक सहयोगको आह्वान गरियो, देश तथा विदेशबाट अस्वभाविक रूपमा रकम संकलन भयो ।

उनको मृत्युपछि प्रधानमन्त्रीदेखि देशका शीर्ष नेताहरूले दुःख व्यक्त गरे । नेता मात्र नभएर जनताले पनि उनीप्रति आघात स्नेह देखाए । वैकल्पिक राजनीतिको सुरुवात गर्ने व्यक्तित्वको अवशानले सबैलाई दुःखी तुल्याएको भन्दै धेरैले समवेदना र श्रद्धान्जली दिए ।

यी त समेदवना र श्रद्धान्जली अपर्ण गर्ने प्रतिमुलक सन्देशको साभार मात्रै हो । व्यक्तिगत सम्बन्ध, दलगत सम्मान अलग छन् । सामाजिक सञ्जालमा के पनि देखियो भने, थापालाई चिन्दै नचिनेका र जान्दै नजानेका चिन्न र जान्न समेत चाँसो नराख्ने क्षेत्रका व्यक्तिहरूबाट समेत समवेदना व्यक्त भए ।

यसबाट के कुरा स्पष्ट छ भने, आजको राजनीति, राजनीतिज्ञप्रतिको वितृष्णा तीव्र रूपमा फैलिँदा मौलाउँदा समेत थापाप्रति भावना देखाउनेहरू यथेष्ट छन् । भावनाहरू भावनामात्रै रहुन भावनात्मक हुनु जरुरी छैन । अलविदा उज्वल थापा दाइ !
(डोटेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य र नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व सभापति हुन् ।)