
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले भने असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।
विज्ञहरूले कोभिड–१९को तेस्रो लहर आउने र त्यसबाट बालबालिका बढी प्रभावित हुने चेतावनी दिइरहेका बेला महानगरपालिकाले कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न भन्दै महानगरले विद्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गराउन अभिभावकहरूबाट लिखित सहमति लिनुपर्ने पत्रमा उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न महानगरपालिकाले निर्देशन दिएको छ । वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी करीव २ सय विद्यालय छन् ।
प्रतिक्रिया दिनुहोस्