
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ काठमाण्डौं आइपुगेको छ ।
विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप स्वास्थ्य सामाग्री काठमाण्डौं आइपुगेको हाे ।
जसमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरीदका लागि आर्थिक सहायता प्राप्त भएको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो ।
चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।
यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ ।
विश्वभरीबाट प्राप्त बाँकि आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत जनाएकाे छ ।
संघको अभियानमार्फत सहयोग गर्ने विदेशस्थित दुताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघले आभार प्रकट गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्