
काठमाडौं । अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ ।
वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएको भएपनि जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनूप बास्तोलाले बताउनुभयो । डा. बास्तोलाकाअनुसार वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।
कोरोना संक्रमितहरुको उपचारमा अहोरात्र खटिरहनु भएका डा. बास्तोला आफनो अनुभव सुनाउदै भन्नुहुन्छ ‘यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामी यति निरीह थियौं कि, चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।’
सुरुवाती अवस्थामा भन्दा अस्पतालमा पनि केही सुधार आएको उहाँको भनाई छ । हाल टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुगेको छ । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् ।
अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैंबाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको डा. अनूप बास्तोला बताउँनुहुन्छ ।
‘दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं,’ उहाँ भन्नुहुन्छ ‘त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।’
‘काेराेना महामारी भयावह बन्दै गइरहेकाबेला हाम्राे लागि पनि सुखद समाचार सुन्न पाउनु धेरै ठुलाे कुरा हाे । दोस्रो लहरको एउटा सुखद अनुभव भनौं,’ डा. अनूप बास्तोलाले भन्नुभयाे ‘खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।’
खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्ने बताउदै डा. अनूप बास्तोला सुझाव दिनुहुन्छ कोभिड निमोनिया भएको ६–७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।
बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।
सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्यता सायद नरहन सक्छ !
शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनूप बास्तोलाको टुईटरबाट साभार
प्रतिक्रिया दिनुहोस्