
काठमाडौं । एड्भोकेसी फोरम–नेपाल र जवाफदेहिता निगरानी समितिले चितवनको बाँदरमुढे घटनाको निष्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
आइतबार जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईं रएड्भोकेसी फोरम–नेपालका कार्यकारी निर्देशक ओम प्रकाश सेन ठकुरीले एक विज्ञप्ति जारी गर्दै घटनालगत्तै तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले घटनाप्रति क्षमायाचना गरेर घटनामा संलग्न रहेका व्यक्तिलाई दण्ड दिने प्रतिबद्धता जनाएपनि त्यो अझै पुरा नभएको जनाएका छन् ।
दाहालले चितवन भ्रमणको क्रममा पटकपटक पीडितहरूलाई क्षतिपूर्तिकाका साथै रोजगारीको अवसर उपलब्ध गराउने प्रतिज्ञा गरेपनि त्यो अझै कार्यान्वयन नभएको दुवै संस्थाको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, `बाँदरमुढे घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको गम्भीर उल्लंघन भएको तथ्य एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समिति दोहोर्याउन चाहन्छ ।यो द्वन्द्वका दौरान कुनै पनि सर्वसाधारणलाई हानी गर्न नहुने मानवीय कानूनको आधारभूत प्रावधानविपरीतको घटना थियो ।`
पीडितलाई न्याय सुनिश्चित गर्नका लागि बारम्बार प्रतिबद्धता व्यक्त गरिएको भए पनि त्यसका लागि सरकार र संक्रमणकालीन न्याय संयन्त्रले कुनै ठोस प्रयास नगरेकोमा एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समिति निन्दा गर्दछ ।
बाँदरमुढे घटनाका पीडितहरूसँग एक्यबद्धता व्यक्त गर्दै एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समिति सरकारलाई घटनाको शीघ्र, स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान गर्न, दोषीलाई कारवाही गर्न, पीडितहरूका आवश्यकतालाई तत्काल सम्बोधन गर्न र न्याय तथा पर्याप्त परिपूरण पाउने पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दछ ।
२०६२ जेठ २३ गते माओवादी कार्यकर्ताहरूले सर्वसाधारण नागरिक चढेको सार्वजनिक बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए । घटनाका ६ जना पीडितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्