
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन आजसाँझ सम्मको म्याद दिनुभएको हो ।
जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन समयसीमा दिएको आयोगले जनाएको छ ।
आयोगले बुधबार दुवै पक्षले पठाएका पत्र कानुन बमोजिम नभएका भन्दै खारेज गरेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन निर्देशन दिएको थियो ।
यादव समूहले भने आयोगले पठाएको पत्र बमोजिमका कागजात बिहीबार नै बुझाएको छ ।
ठाकुर समूहलाई आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेको थियो ।
तर, उसले अहिलेसम्म नबुझाएपछि आयोगले ताकेता गरेको हो । यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गर्नुभएको थियो ।
त्यसको जवाफमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएको थियो ।
आयोगको पत्रको जवाफ यादव समूहले बिहीबारै बुझाए पनि ठाकुर समूहले अहिलेसम्म नबुझाएको आयोगको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्