१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने कार्यविधि जेठभित्रै जारी गर्ने बोर्डको तयारी


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्यांकनको कार्यविधि जेठभित्रै जारी गर्ने जनाएको छ ।

विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज कार्यविधि बनाउने बोर्डले तयारी गरेको हो । कार्यविधिका विषयमा छलफल भइरहेको बताउँदै बोर्डले केही दिनमै सार्वजनिक गरिने जनाएको छ ।

गत वर्षको आन्तरिक मूल्यांकन विवादित बनेसँगै यो वर्ष कार्यविधि बनाउन लागिएको हो ।

कार्यविधिले विशेषगरी विद्यार्थीको मूल्यांकनमा नम्बर कसरी दिने, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्यांकनमा को जिम्मेवार हुनेलगायत विषय स्पष्ट पार्ने जनाइएको छ ।

कार्यविधि जारी गरेपछि विद्यालयलाई विद्यार्थीको मूल्यांकनका लागि दुई साताको समय दिने बोर्डको तयारी छ ।

बोर्डमा देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी विद्यार्थीको अन्तिम परीक्षाफल तयारी तथा प्रकाशन, प्रमाणीकरण र प्रमाणपत्र जारी गरिनेछ ।

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्यांकन भने विद्यालयले नै गर्नुपर्ने बोर्डले जनाएको छ । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने बोर्डले हलसम्म कुनै निर्णय गरेको छैन ।