१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ का मुख्यमन्त्री राउतबाट चारजना मन्त्री बर्खास्त, जसपा अध्यक्ष ठाकुर पक्षका मन्त्री पदबाट हटाइए


0
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जनालाई हिजो साँझ बर्खास्त गर्नुभएको हो । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरू छन् ।

महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग वन पर्यटन राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभयो ।

यसअघि जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको हो ।

बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो । प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् ।

तालमेल गरी चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए । गत वर्ष पार्टी मिलेर एक भएपछि एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन । ५५ सांसद मध्ये ३६ सांसद राउतको पक्षमा छन् ।

यता प्रदेश २ का मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेसँगै मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ ।

पूर्वराजपाबाट प्रदेश २ सरकारमा प्रतिनिधित्व गरिरहेका चार जनालाई राउतले बर्खास्त गरेपनि सोही पार्टीबाट सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय भने जोगिएका छन् ।