
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।
सोमबार माधव नेपाल समूहका नेताहरूको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने नेता घनश्याम भुसालले ईमेजखबर डटकमलाई जानकारी दिनुभयो ।
‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधव कमरेड (माधवकुमार नेपाल)ले निर्णय लिनुहुन्छ ।’
अध्यक्ष ओलीले आइतबार बेलुका ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको लागि आह्वान गर्नुभएको थियो ।
आह्वानमा पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थाबाट अगाडि बढाउन आफू तयार रहेको, केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका नेताहरूसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने, पार्टी कमिटी र जनसंगठनहरू पनि मूलभूत रूपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीको प्रस्ताव थियो ।
यस्तै उहाँले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त राख्दै यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह एवं भेदभाव नराखिने बचन पनि दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्