
-संजिव कार्की
आफ्नो जन्मभूमि भन्दा प्रिय र आत्मिक भूमि शायद अरु हुन्न । जन्मदिने आमा र जन्मेको भूमिलाई सम्मान, माया ,स्नेह आदर र सम्झना नगर्ने मान्छे शायदै होलान ? आफ्नो माटोको मायाले वशिभूत भएर देशको लागि जीवन बलिदान गर्ने थुप्रै सपुतहरु हुन्छन र जन्मन्छन् । प्राण भन्दा प्यारो जन्मभूमि सम्झने सत्तरी वर्षे भक्ति थापाले आफ्नो देशको लागि त्यो उमेरमा सहादत प्राप्त गरेर शत्रुको तर्फबाट समेत सम्मान र सलामी पाएको इतिहास छ ।
आफ्नो माटोको मायाले ७० वर्षको वृद्द उमेरमा पनि आइमाई, केटाकेटी सबैको नेतृत्व गरेर, भोकभोकै पानी समेत खानबाट बन्चित हुँदा पनि युद्धरत रहे । वीर अमरसिंह थापालगायत धेरै नेपाली आमाका सपुतहरुले आफ्नो ज्यानको माया नगरेर नै देशको माया गरे । देशको मायाको खातिर रगत बगाएर देशको माया गरेका थिए । अमरसिंह लगायत सारा नेपाली बाल वृद्ध, बनिता सबै सबैले देशको माया गरेर लडेकोले नै अंग्रेजहरुले गोर्खाली वीरता अनि देशभक्तिको सम्मान गरेर, अमरसिंहको पार्थिव शरीरमा दोसल्ला ओढाएर सलामी अर्पण गरेका थिए । आफ्नो एक चिम्टी माटो पनि पराय हातले चोरेको नेपालीहरुको लागि असह्य हुन्छ पीडादायी हुन्छ ।
यो देशको स्वतन्त्र अस्तित्व जोगाउन हाम्रा वीर पुर्खाहरुले जुन वीरता र शुरताको इतिहास बनाएका थिए जसको फलस्वरुप आज हामी नेपाली भएर बाँच्न पाएका छौं । आफ्नो स्वतन्त्र अस्तित्व प्रति गर्वले छाती चौडा बनाउछौं । त्यतिबेलै तोप र मेसिन गनले युद्द लडने अंग्रेजसँग चलाखी र बहादुरीले खुकुरी खुँडा, भरुवा बन्दुकको भरमा आइलाग्ने माथि जाइलागेर आफ्नो भूमिको रक्षा गरेका थिए । थुप्रै वीर विरंगनाको सहादतले यो भुमि स्वतन्त्र र अटल भएर रहेको हो । हाम्रो वीरता र सौर्यको जीवन्त इतिहास संधै गर्विलो र उच्च छ ।
पुर्खाहरुले ‘म बाघको डमरु हूँ मलाई सिनो खाने कुकुर नसम्झ भनेर’ अंग्रेजहरुले दिएको बिभिन्न आकर्षक प्रलोभन र अवसरलाई लत्याएका थिए । देशभक्त नेपाली कुनै प्रलोभनमा फस्दैन बरु देशले रगत मागे आफ्नो जीवन अर्पण गर्छ भनेर नेपाली माटोमा आफ्नो रगत पोखेका थिए । तर आज दुःखका साथ भन्नुपर्छ हाम्रो राष्ट्रियता माथिको हस्तक्षेप, गिद्दे नजर र कन्याएर शिकार गर्ने ब्वाँसो दाउमा हाम्रा नदीनाला, तालतलैया र प्राकृतिक सम्पदा कौडीको मुल्यमा बिकेका छन् । देशको स्वाभिमान नेपाली माटो र सम्पदासँग साटिएको छ । सुक्रिबिक्री भएको छ ।
राष्ट्रिय अस्मिता माथि चारैतिरबाट हमला भएको छ । धावा बोलिएको छ । तर यो देशको सत्ता कानमा तेल हालेर बस्छ । राजनीति अन्तै र अर्कैबाट नियोजित र निर्देशित भएको छ । पार्टीहरुको फंडीङ्ग गर्ने डोनरहरुको इशारा र आदेशमा राजनीतिक गतिबिधि हुँदैछ । नारा विदेशी इशारामा तय हुन्छ । समस्या विदेशीले खडा गरिदिन्छन र समाधान पनि उनकै बहुबालीबाट निस्कन्छ । राष्ट्रियताको सबाल सत्ता र सत्ता बाहिर हुँदा फरक फरक कलेबरमा देखिन्छ । सत्ताको भाषा र सत्ताइतर हुँदाको भाषा एकै पार्टीको भिन्न भिन्न देखिएको छ । नेपालका प्रायः सबै पार्टी र तिनका नेताहरु देखि राजाहरु समेत बेला बेलामा चुकेका छन् । आफ्नो पार्टीगत स्वार्थ सिद्द गर्न राष्ट्रियता बन्धक बनाउने देखि नदीनाला बेच्ने कामसम्म गर्न भ्याएका छन् । सत्ता उक्लन जेसुकै नारा घन्काउने तर सत्तामा पुगेपछि सबै बिर्सने र देशको माटो मिचे, लुछे र सीमा परिवर्तन गरेपनि गम्भीरता र संवेदनशील बन्न नसक्ने भावको विकास सत्तामा बस्ने, बसेका र बस्न खोज्नेमा बढी देखिन्छ । तर जनता आफ्नो एक चिम्टी माटोमा पनि उत्तिकै स्नेह गरेर ज्यान दिने तर माटो नदिने संकल्पमा छन् ।
देशभर धेरै ठाउँ भारतीयहरुले सीमा मिचेका छन । विगत देखि नै कालापानी, लिम्पियाधुरा, महेशपुर सुस्ता, तिलाठी लगायत देशका धेरै भूभाग अतिक्रमणमा परेका छन् । भारतसँग सिमा जोडिएको २६ जिल्ला मध्ये २३ जिल्लामा सीमासम्बन्धी विवाद र समस्या छन् । झमेला छन । १८१६ को सुगौली सन्धीमा सिमा कायम गरिएको भूगोल खुम्चिएको छ । स्थानीय रुपमा स्थानीयले सीमा मिच्नुमा र भारत देशकै आधिकारिक नक्सामा सिमा मिचिनुले धेरै ठुलो भिन्नता राख्छ । स्थानीय स्तरमा कहिलेकाहीँ स्थानीय बिचको मनमुटावले सीमा मिचिन सक्ने सम्भावना हुन्छ । संधियारले सीमामा कहिलेकाहीँ घच्चापच्चा गर्न सक्छ तर त्यसको निर्क्योल हुन्छ । आ–आफ्ना दावी सबुत र प्रमाणको आधारमा टुंगो लाग्छ तर देशको आधिकारिक नक्सामा नै सीमा फेरबदल हुन्छ भने त्यो देसले नै मिचेको र आफ्नो बनाएको हो हेपाहा प्रवृति र नेपालीलाई जे गरे पनि हुन्छ भन्ने कुनियतले काम गरेको बुझ्न सकिन्छ । नक्सा नै फेरेर आएपछि त्यो सामान्य संकट महासंकट बनेर आएको अनुभूत हुन्छ ।
यतिबेला हाम्रो ध्यान र मन आफ्नो थैलो राम्रो बान्न नसकेको कारण नै अरुले चोर्ने मौका पाएको हो कि भन्नेतर्फ मोडिनु, जानु र आफ्नो मति सपार्नतर्फ लाग्नु ,उत्तिकै जरुरी छ । ग्रेटर नेपालको अभियान लिएर हिड्ने फणिन्द्रराज तिमल्सेनाको घाटी थिचेर राष्ट्रवादको राग अलापेको सुहाउँदो देखिएको छैन । देशको माया यदाकदा होइन सदासदा हुनुपर्छ । मौसमी राष्ट्रप्रेम र राष्ट्रवादले भन्दा सदावहार देश प्रेमले हामी सच्चा नेपाली बन्न सक्छौ । सच्चा नेपाली बोलेर होइन भएर, बनेर देखाउनु पर्छ । कतै हाम्रा कारण, प्रवृति र लम्पसार परेर सबैथोकमा निर्भर हुने परनिर्भरताको कारण हामीले हाम्रो मूल्य सस्तो बनाएको तिर पनि विचार गर्नु चिन्तन मनन गर्नु समीक्षात्मक हुनु आवश्यक छ । सिद्दान्त र आदर्शमा असाध्यै राष्ट्रवादीहरु ब्यबहारमा राष्ट्रको माया भन्दा आफ्नो स्वार्थमा लिप्त भएको उदाहरण प्रसस्त छन् ।
हाम्रो नैतिकता, हाम्रो स्वाभिमान र हाम्रो अस्मितामा खेलवाड भएको छ केहि थान छात्रवृत्तिको कोटामा हाम्रो अस्मिता बेचियो कि ? सत्ता स्वार्थमा हामीले हाम्रा नदीनालामा अरुकै स्वार्थको वच्चा कोरल्यौ कि ? लैनचौर हाम्रा लागि चारधाम भन्दा महत्वपूर्ण भयो कि ? यी त भए हामीले यी र यस्तै कुरामा समीक्षात्मक हुने कुरा । राष्ट्रियता सत्तामा चढ्ने भर्यांग र ओठमा सँधै जपिने रामनाम तर ब्यबहारमा हराम भएको हो कि ? छिमेकीसंगको सीमा र राजनीतिक सम्बन्ध फरक कुरा हुन । आफ्नो भूमि आफ्नो माटोको पहरेदारी अहिलेको युगमा कुटनीतिको टेवलमा बसेर गर्ने हो । नकी सडकमा ?
हाम्रो कुटनीति कति कमजोर र कति सुस्त छ भन्ने कुरा भारतले गत आइतबार प्रकाशन गरेको नक्शा भारतमै चर्चा भएपछि नेपालीहरुले बुधबार मात्रै चाल पाउँछन । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई अझै अध्ययन गर्न बाँकी रहेको सगर्व बोल्छन । सडक सुचना र सडकमा लागेको नाराको कारण आफुले थाहा पाएको भनेर परराष्ट्र मन्त्रालयको तर्फबाट बेबारिसे बक्तव्य जारी हुन्छ ।
राष्ट्र, रास्ट्रिय अस्मिताको सबालमा सरकार कति संविदंशील छ भन्ने कुराको प्रमाण हो यो । राष्ट्र तरंगित र आन्दोलित छ तर सत्तालाई यी सब विषयले जति छुनुपर्ने हो त्यति छोएको छैन । आफ्नो बिद्यार्थी संगठनले बिरोधको कर्मकाण्ड पुरा गरेकै छ सरकारलाई हाइ सन्चो छ । कुटनीतिक लडाई हो लड्नुपर्ने तर त्यसको लागि सरकारले सर्वदलीय बैठक यथाशीघ्र सकेर देशको एक स्वर एक धारणा बनाउनु पर्ने हो । तर सुस्त छ सरकार ।
आ-आफ्नै तालसुर र रागमा छन् पार्टीहरु । को भन्दा को राष्ट्रवादी देखिने प्रतिस्पर्धा मात्रै छ । देशको माया जतिहुनुपर्ने हो जनतामा छ । तर नेतृत्वमा देखिएको छैन । अब कुटनीतिको माध्यमबाट हाम्रो समस्या समाधान गरौं । हाम्रा कुरा दृढतापुर्वक राखौं । नेपाल भारत र चीनसंग समस्यामा ऐतिहासिक तथ्य पेश गरौं । हाम्रो भुमि अनाधिकृत रुपमा त्रिदेशीय सीमामा भारत र चीनले नेपालको वेवास्ता गरेर गरेको सम्झौतामा हाम्रो हकभागको दावी गरौं ।
१९५० को नेपाल भारत सन्धी खारेज गर्ने उदघोष सरकारको नेतृत्व गरेको बेला पुरा गरौं । असमान प्राबधान हटाएर समान मैत्री र समभावको नयाँ मैत्री सन्धि गरौं । हराएका चोरिएका, मिचिएका जंगे पिलर स्थापना गरौं । नयां सीमा प्राबधान र पिलरहरु थपौं । बरु नयाँ र सीमा तारबार गरेर व्यबस्थित स्तम्भ र स्मारक बनाउ जसको नाम ओली स्तम्भ राखेर नेपाल भारतको सम्बन्धमा कहिल्यै दरार पैदा नहुने स्थितिको सिर्जना गरौं ।
समस्या राजनीतिमा भएको कारण कुटनीतिको पहलमानी दरो हुन नसकेको तथ्य स्मरण गरौं । छिमेकीलाई सँधै र जहिल्यै आफ्नो आन्तरिक मामलामा गुहार्ने हाम्रो राजनीतिको च्याँखे दाउको कारण हेपाईमा परेको नबिर्सौ । सँधै मगन्ते चरित्र र मगन्ते प्रवृति लिएर आशामुखी नजर लाउने र मौसमी राष्ट्रवादमा मात्रै विश्वास गर्ने हाम्रो नीति र नियतिको कारण हामी गतिलोसँग शिर उचा गरेर कुटनीतिक शैलीमा प्रस्तुत हुन नसकेको कमजोरी स्वीकार गरौं ।
हामी हाम्रा कारण पनि दमदार प्रस्तुतिमा छैनौं । यो नग्न सत्य हो । अब यसलाई सच्याउन पहल गरौं । देशलाई संकट परेको घडीमा सरकारलाई काँध थापौं । राष्ट्रिय एकता प्रदर्शन गरौं, ताकी बार्ताको टेबुलमा सरकारका प्रतिनिधिलाई उर्जा र तागत प्राप्त होस् । नभुलौं हामी अमरसिंहका सन्तान हौं । बाघको डमरु हौं, सिनो खाने लुते कुकुर होइनौ । क्षणिक लोभ र प्रलोभनमा आफ्नो राष्ट्रिय अस्मितामाथि बज्र नहानौं । हामीले धेरैपटक, पटकपटक आफ्नो निहित स्वार्थको खातिर देश भुलेका छौं । माटोप्रति गद्दारी गरेका छौं । मुटुमा खिल बोकेर पनि स्वार्थको लागि भौतारिएका छौं । अब त्यसो गर्नु विल्कुल हुन्न ।
नेपाल रहेन भने हाम्रो नेपालीत्व रहँदैन । देशको माया गर्न कुनै मौसम कुर्नु पर्दैन । राजनीति सफा र संग्लो नभएसम्म सबै किसिमका समस्या र झमेला रहिरहन्छन तसर्थ राजनीति नै सबै कुराको जड हो । राजनीति पुष्ट र तन्दुरुस्त हुँदा कुटनीति पनि तार्किक बौद्दिक र धारिलो हुनेछ । आफ्नो मर्यादामा बस्यौं भने अरुले हेप्न र चेप्न सजिलो हुँदैन । देश भन्दा ठुलो स्वार्थ हुँदैन । नेताहरुले यहि कुरामा हेक्का राख्दा धेरै कुरा मिल्दै जान्छ । राष्ट्रिय एकता प्रदर्शन गरौं । सालिन बिरोध र प्रतिरोध हाम्रो शैली र संस्कार हुनुपर्छ । युद्द हतियार बोकेर मात्रै लडिदैन । धारिलो बौद्दिक र परिपक्व कुटनीतिक, तार्किक तथ्य नै आज हामीले कुटनीतिको मैदानमा बोक्ने हतियार र साधन हुन ।
व्यापार गर्ने सेना, बाटो खन्ने सेनालाई सीमाको रक्षार्थ राख्न सके नेपाली सेनाको ऐतिहासिकताले सान्दर्भिकता पाउथ्यो । सेनालाई, सेनाको भूमिका र स्थानलाई पुनरावलोकन गरी अझ धेरै राष्ट्रको पक्ष र हितमा प्रयोग गर्ने पनि यो अवसर हो । यतातर्फ पनि सरकार र पार्टीहरुले गम्भीर भएर सोच्न सकुन । देशको माया ओठमा हैन प्रत्येक नेपालीको छाती भित्र छ ।
प्रतिक्रिया दिनुहोस्