१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीको जवाफमा नेपालको वक्तव्य ‘ओलीको भ्रममा नपरी संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नुस्’


13
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावको भ्रममा नपर्न माधवकुमार नेपालले नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको छ ।

आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्तावको जवाफमा सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै नेपालले प्रधानमन्त्री ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरूलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएकोले वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न खनाल–नेपाल पक्षले प्रेस वक्तव्य मार्फत आव्हान गरेको छ ।

प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्नेमा आफूहरू स्पष्ट रहेको पक्षद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पार्टी एकताका लागि अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राख्नुभएको थियो । ओलीले शर्त राखेको भोलिपल्ट बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिए हस्ताक्षरको विषय आफैं समाधान हुने तर्क अघि सारेको छ ।

यस्तै, ओलीले वक्तव्यमा जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्र रूपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मलाउने भाषा प्रयोग गरेको नेपाल पक्षको निष्कर्ष छ । ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप चलाउन खोजेको यो पक्षले ठहर गरेको छ ।

अब पार्टीका नेताहरूलाई कारबाही नगर्ने भने पनि यसअघि विधानविपरीत कथित कारबाही फिर्ता लिने कुरा ओलीको वक्तव्यमा नभएको नेपाल पक्षको निष्कर्ष छ ।

साथै ओलीबाट अगाडि सारिएका कुराहरू पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको खनाल–नेपाल पक्षको ठहर छ ।