दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो • Image Khabar Image Khabar


दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो


Imagekhabar
२५ जेष्ठ २०७८, मंगलवार ०८:०५

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

काठमाडौं । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएसँगै दैनिक उपभोग्य सामग्रीको स्वभाविक मूल्यवृद्धि भएको छ ।

कोरोना महामारी सुरू भएसँगै आयस्रोत गुमेर क्रय शक्ति कमजोर बनेका बेला उपभोक्ताको ढाड सेक्ने गरी महंगी बढेको हो ।

तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।

यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन् ।

लामो समयसम्म टिकाउ नरहने तरकारीको मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मार्कामा परेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

तर तरकारीको मूल्य होलसेलमा सस्तो नै भएको र खुद्रामा मनपरी मूल्य गरेको समितिको भनाइ छ ।

राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।

अनुगमन गर्ने सरकारी निकाय सक्रिय बनाउन नसक्दा उपभोक्ताले मर्का खेपिरहनु परेको अधिकारकर्मीहरुले जनाएका छन् ।

काठमाडौंमा गत साता भन्दा तरकारीको अप्रत्याशित मूल्य वृद्धि भएको छ । निषेधाज्ञा पछि ओरालो लागेको तरकारी एकाएक वृद्धि हुन थालेको छ ।

उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले भाउ बढेको व्यापारीहरूले बताउने गरे पनि सरकारको कमजोर अनुगमन र बिचौलियाको बजार नियन्त्रणका कारण तरकारीको मूल्य बढेको हो ।

निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्टलगायत धेरै खाद्यान्न, तेल र तरकारी खपत हुने ठाउँहरू पूर्ण रुपमा बन्द हुँदा माग घटे पनि मूल्य भने निरन्तर उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्