२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


प्रतिपक्षीको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्दै


0
Shares

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।

एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो ।

पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश व्यक्त गर्नुभएको थियो ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।

हिजो बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच लामो वार्ता भए पनि सहमति हुन नसक्दा बैठक बस्न सकेन ।

दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले आज अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना प्रकाशित गरेको थियो ।