मन्त्रिपरिषदबाट स्वीकृति पाए साउनदेखि गणना सुरू गर्ने • Image Khabar Image Khabar


मन्त्रिपरिषदबाट स्वीकृति पाए साउनदेखि गणना सुरू गर्ने


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार ०८:५६

मन्त्रिपरिषदबाट स्वीकृति पाए साउनदेखि गणना सुरू गर्ने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना साउनपछि गर्ने तयारी थालिएको छ ।

राष्ट्रिय जनगणना सञ्चालक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउन १५ देखि असोज १५ गतेसम्म गर्ने प्रस्ताव तयार गरेको हो ।

समितिको उक्त प्रस्ताव मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

कोरोना संक्रमण दरमा कमी आउन थालेकाले नयाँ मिति प्रस्ताव गरिएको विभागले जनाएको छ ।

यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले जनगणनाको सबै काम स्थगित गर्ने निर्णय गरेको थियो ।

सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो त्यहीँबाट बाँकी काम गर्ने विभागले जनाएको छ ।

विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने जनगणनाका लागि आठ हजार सुपरीवेक्षक र ३९ हजार गणक छनोट गरिसकेको छ ।

राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारी तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक प्रशिक्षण, स्थानीय जनगणना अधिकारी तालिम सम्पन्न भइसकेको छ ।

विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि तालिम केन्द्र र प्रशिक्षण सामग्री तयार गरी सबै तालिम केन्द्र र जिल्लामा यसअघि नै पठाइसकेको थियो ।

यस वर्ष हुने जनगणनाका लागि सरकारले ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्