राइट फर चिल्ड्रेनद्वारा गल्याङ नगरपालिकालाई साढे ७ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण • Image Khabar Image Khabar


राइट फर चिल्ड्रेनद्वारा गल्याङ नगरपालिकालाई साढे ७ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार ०९:१६

राइट फर चिल्ड्रेनद्वारा गल्याङ नगरपालिकालाई साढे ७ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

स्याङ्जा । राइट फर चिल्ड्रेनले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि भन्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

गल्याङ नगर अस्पतालमा संस्थाका कार्यक्रम अधिकृत तथा नगरपालिका वडा नं २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले नगरपालिकाका प्रमुख भुपराज अधिकारीलाई ४ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो ।

यस्तै, न्यौपानेले मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नम्बर १ का अध्यक्ष गणेश बस्याल तथा अस्पताल प्रमुख डाक्टर सन्जना भण्डारीलाई साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

नगर अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन, अक्सिजन फ्लोमिटर, पञ्जा, मास्क, थर्मोमिटर, थर्मल गन सहितका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

सामाग्रीहरु ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख तथा गल्याङ नगर अस्पतालका अध्यक्ष भुपराज अधिकारीले संस्थाबाट भएको सहयोगले गल्याङ नगरवासीका लागि महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

उहाँले अस्पतालमा अहिले विपन्न परिवारका लागि निशुल्क उपचारको व्यवस्था भैरहेको भन्दै कोही पनि नागरिकलाई उपचार नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विपन्न परिवार विरामी भएमा घरमै गएर अस्पताल सम्म ल्याइ निशुल्क उपचार गर्ने निर्णय कार्यपालिकाबाट नै भएको छ ।’ उहाँले नगरवासी कहीं विरामी अवस्थामा रहे खबर गरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

संस्थाका कार्यक्रम अधिकृत तथा यसै नगरपालिका वडा नं २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले महामारीको बेला आफ्नो सानो सहयोगले पनि केही राहत मिल्ने आशा सहित संस्थाले सहयोग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्