
डोलराज रानाभाट
चितवन । पहाडको भिरालोमा रहेको सानो जग्गा, खरले छाएको छानो समेत भत्किएर चुहिन थालेको कयौँ दिन भयो । चितवन सिद्धिकाका चेपाङ् समूदायको दैनिकी दयनीय बन्दै गएको छ ।
तर, कालिका जिङलाउका सुर्खवहादुर चेपाङलाई अहिले त्यसको कुनै पीर छैन, बरु साथमा रहेका लालाबाला र आफ्नो भोक कसरी मेटाउने भन्ने पिरोलोले पिल्साई रहेको छ उन्लाई । समयमै उपचार नपाएर श्रीमती गुमाउनुपरेको पीडा उनकाे आलै छ ।
चामल र मकै सिद्धिएर गिठ्ठा भ्याकुर र कन्दमुल खान थालेको धेरै दिन भएको छ । तर, पेट भर्ने माध्यम बनेको त्यही गिठ्ठा पनि छिप्पिएर अहिले तितो हुन थालेको छ । साथमा रहेकी हुर्कीएकी छोरी लकडाउनले स्कुल वन्द भएपछि उनी पनि घरमै छिन् । तर, घरमाम खानेकुरा केही नहुँदा उनको मन पनि भक्कानिएको छ ।
६ महिना सहकाल ६ महिना अनिकाल चेपाङहरुको वाध्यतानै भइसक्यो । वर्षौ भयो यो पीडा पोखेका उनीहरुले । तर अहँ सत्ताको वागडोर सम्हालेकालाई उनीहरुको रोदनले कहिल्यै छोएन । गिठ्ठा छिप्पिएर खादा पनि कोक्याउने भईसक्यो । दिनप्रतिदिन थपिदो लकडाउन र कोरोना संक्रमणले उनीहरुको दैनिकी निकै कष्टर बनेको छ । हातमा भएको सीप प्रयोग गरी डोको नाम्लो बुनेका उनीहरुले त्योपनि विक्रि गर्न नपाएको स्थानीय यमप्रसाद चेपाङको गुनासो छ ।
उक्त क्षेत्रका जिङलाउ, गोदारा, ताङकुम, नान्दार, पाइमाराङ, घैराङ, दमियोडाँडा बाँसपानी लगायत क्षेत्रका चेपाङहरुको अवस्था दयनिय रहेको भन्दै चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बढ्दो भोकमरीमा चेपाङलाई बचाउन आग्रह गर्नुभएको छ ।
प्रशासनले लकडाउन लम्ब्याएको छ । तर खाना सकिएर चिसो भुइमा दिन कटाइरहेका यी चेपाङ समुदायलाई भने कसैले सम्झेको छैन् । त्यसैले पनि लकडाउनका कारण भोकमरीको चपेटामा परेका चेपाङहरुको चिन्तालाई सम्बोधन गर्ने हो की ?
प्रतिक्रिया दिनुहोस्