कमरेड माधव नेपाललाई रैतीको चिट्ठी • Image Khabar Image Khabar


कमरेड माधव नेपाललाई रैतीको चिट्ठी


सन्जिव कार्की
२६ जेष्ठ २०७८, बुधबार ११:२४

कमरेड माधव नेपाललाई रैतीको चिट्ठी

प्रिय माधव नेपाल कमरेड 

अभिवादन !

तपाई राजनीतिक जीवनको अत्यन्तै संक्रमणकालमा हुनुहुन्छ तर संक्रमणबाट पार पाउने तपाईंको बुता र हुतिमा यसरी खिया लाग्ला भन्ने मलाई लागेको थिएन । तपाईं कमजोर राजनितिक र सैद्धान्तिक जगको मानिस त होइन तर किन यति धेरै दुर्बलता देखाइरहनु भएको छ ? मान्छेहरु छक्क परेका छन् । नेकपा माले निर्माण देखि नेकपा एमाले बनाउन तपाईंले बगाउनु भएको पसिना पक्कै पनि पानीका थोपा मात्रै थिएनन । आज पनि तपाईंका समर्थक र अनुयायी देशभर कुना-कुनामा नभएका होइनन् यद्यपि तपाईंले जसरी खुट्टा कमाउनु भएको छ त्यो देख्दा तपाईं साँच्चिकै कमजोर भएको प्रतीत हुन्छ । तपाईंको निर्वलता र सबलता मेरो खास सरोकारको विषय त होइन तर देशको पूर्व प्रधानमन्त्रीको हालत र हैसियतले तपाईं जे गरिरहनु भएको छ जुन थिति बसाउन खोज्दै हुनुहुन्छ त्यसको बाछिटा प्रत्येक नेपाली नागरिकमा परे झैं ममा पनि आइपुग्छ ।

उसै त म आफूलाई सचेत नागरिक ठान्छु तसर्थ यो लेख्ने बोल्ने मेरो हक हो । तपाईं कुनै पार्टी विशेषको नेता मात्रै होइन नेपालको पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्री पनि हो । त्यसैले तपाईंले चाल्ने कदममा मेरो पनि वर्तमान र भविस्यको उज्यालो अँध्यारो, सकारात्मक नकारात्मक पक्ष जोडिएको हुन्छ । त्यसैले म प्रश्न गर्छु । यी प्रश्नहरु मेरा मात्रै होइनन् धेरै मान्छेको मन मस्तिष्कका उपज हुन ।

 प्रिय कमरेड, तपाईं एक व्यक्ति मात्र होइन संस्था हो । संस्था पनि सामान्य र प्रभावहीन होइन प्रभावशाली र प्रभुत्वशाली हो त्यसैले तपाईंप्रति गुनासो जिज्ञासा र आलोचना समर्थन बिरोध अरु भन्दा धेरै हुन्छ । नेपालको भविस्यका थुप्रै हस्तरेखा मध्य तपाईंको कदम प्रयत्न चाल र ढाल पनि एक हो । यतिबेला तपाईंलाई बाइपास गरेर जे गरिन्छ जसो गर्न खोजिन्छ त्यो सफल हुन सक्तैन भन्ने मेरो बुझाइ छ । मेरो बुझाइ फगत समर्थन र बिरोध मात्रै होइन यो आजको यथार्थ हो । यथार्थलाई नजरअन्दाज गरेर विश्लेषण गर्न सकिन्न अत: तपाईं जति महत्त्वपूर्ण र सान्दर्भिक हुनुहुन्छ देशको लागि आजको मिति सम्म ओली देउवा प्रचण्ड र महन्थ बाबुराम पनि त्यतिनै प्रभावशाली र महत्त्वका छन् । राजनीतिले आशातित सफलता दिनु भन्दा अघि आज जे छ भोलिको परिदृश्य अर्थात पार्टी र ब्यक्तिको सान्दर्भिकता त्यति नै रहन्छ चाहे तपाईं अर्को पार्टी बनाउनुस या एमालेमै रहनुस । भुमिकामा अदलबदल रहला तर शक्ति संचय र आगामी राजनीतिको कोर्स अर्को हुँदैन । बरु यथार्थ के हो भने आजको सहि या गलत कदमले तपाईंको भुमिकामा संकुचन आउँछ कि फराकिलो बन्छ त्यो तपाईंले लिने कदममा निर्भर रह्न्छ । पार्टीहरु सानो ठूलो निर्वाचन मार्फत बन्लान तर आउने अनुहार प्रवृति र पात्र यिनै हुन् ।

सत्तामा गाई कि त्रिसुल होला तर गाइ र त्रिसुलमा अर्को हेराफेरी या अर्को घोडा तरबार पल्टने संभावना  त्यति सजिलो छैन । नेपालको राजनीतिमा परिवर्तन र पात्र नयाँ खोजी जरुर छ । आजको राजनीतिको कोर्स बद्ल्नु अपरिहार्य छ तर आजको भोलि त्यो चमत्कार केवल कल्पना हो यति छिटो सम्भावना देखिन्न तर राजनीतिको फडकाे यदाकदा आम मान्छेको भिजन भन्दा अपत्यारिलो ढंगले  अप्रत्याशित र अनपेक्षित तवरले फडकिन पनि सक्ने अपवादको नियम चै छँदैछ । तर अपवादहरु नियम होइनन् र बन्दैनन । यसर्थ आजको नजरवाट राजनीति नियाल्दा भोलि के हुन्छ करिबकरिब बुझिन्छ । कमरेड माधव, तपाईंहरुको योगदान र क्षमता आम नेपालीले देखिसकेको छ । तपाईंहरु राजनीतिबाट रिटायर्ड हुनुपर्ने हो तर तपाईंहरुलाई बिस्थापन गर्ने नेताहरू नै हुतिहारा दही चिउरे अवसरवादी र मौका परस्त राजनीति गर्छन् । धिरता र सौर्य रोज्दैनन। त्यस कारण पनि तपाईंहरुको राजनीति अझै बाँकी छ । समय सन्दर्भ कार्यगत क्षमता र यूगको हांक अनुसार अब तपाईंहरुको बिदाइ ढिलो भै सक्यो तर बिडम्बना राजनीतिमा चेलो चम्केको गुरुलाई इखाउछ बिझाउछ । शिक्षण पेशामा झै आफ्ना चेला चेलीको प्रगतिमा रमाउने राजनीतिक गुरु नहुदा राजनीति नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन यो जुन सुकै ठूल्ठूला राजनीतिक पार्टीको मुल समस्याको चुरो हो भन्दा अतियुक्ती नहोला ।

राजनीतिमा उमेरको हदबन्दी त हुँदैन जुँगा मुठे हुनु र तिघ्रा पाखुरा बलियो हुनु नै युवा हुनुको परिचय पनि होइन तर क्षमता प्रदर्सन गरिसकेका र त्यो भन्दा अब्बल नदेखिनेले विश्राम रोज्ने परिपाटी चै विकास गर्नुपर्छ चाहे त्यो युवा होस् या बृद्ध । चोरी गरेको भोलिपल्टको जाग्रामको अर्थ देखिन्न । अहिले माधव कमरेडको एमाले सुधार्ने र ओली सँग नै बस्ने प्रयास त्यस्तो मात्रै देखिन्छ । जसको कारण यत्रो भाँडभैलो र आपाद विपद आइ लागेको छ राज्यका सारा बिधि र पद्धति संसदीय मर्यादा सबै भताभुङ भएको छ । जसले आफ्नो मर्जी नै कानुन जस्तो गरेको छ । पार्टी प्रणाली र नेताकार्यकर्ताको भावना ध्वस्त गरेको छ । त्यस्तो मान्छेसँग अब पनि कसरी सँगै बसेर काम गर्न सक्नु हुन्छ र जेठ ३, २०७५ को स्थितिमा फर्कने रटान लागाएर बस्नु भएको  ? ओली सँगै टासिएर बस्नु नै छ आगामी राजनीतिको जोखिम मोल्न सक्नु हुन्न भने किन यो रमिता गरेको, ? चुपचाप सहेर बस्नु भएको भए हुन्थ्यो । कार्यकर्ता र नेतामा यत्रो गाँड कोराकार किन गर्नु पर्यो ? सडकको प्रदर्शन र ओली ढाली छाडने हुँकारको पछाडि अल्छि नेताकार्यकर्तालाई काम दिएको मात्रै हो त ? विद्रोह गर्ने आँट थिएन भने ओलीसँग केही भाग मिलाएर बस्नु नै बेस हुन्थ्यो । कम्तीमा यो गाइजात्रा देखि रैती दिक्क त हुँदैनथे ।

राजनीतिप्रति चरम वितृष्णा र युवामा राजनीतिलाई सराप्ने मात्रा कम हुन्थ्यो।  सडकमा यस्तो तमासा र कार्यकर्ताको तल तल सम्म बिभाजन र भडकाव किन गर्नु भयो ? अझै ओलीको सामान्य लचकताले मिलन संभव छ भने ? ओलीले गरेको कार्बाही फिर्ता र २०७५ जेठ ३ को अवस्थामा पार्टी पुगेको घोषणा गर्दा त्यस यता भए गरेका दोष र अपराध पूर्ण छूट हुने हो ? त्यसो हो भने त्यो अपराधको हिस्सा र देशप्रति जनप्रतिनिधि मुलक संस्था संसदप्रतिको बेइमानीको अंस तपाईंको भागमा पनि पर्दैन र ? कस्तो  नीति बिधि र पद्धतिको लागि तपाई पार्टीमा लफडा गर्दै हुनुहुन्छ । खराब प्रवृति र नियतसँग सँगै बस्न सकिएन भने आफ्नो मार्ग र गन्तव्य तय गर्न किन हिचकिचाउनु पर्यो र ? असल बिधि पद्धति र अनुसाशित कार्यकर्ता हुन्छन् भने नेकपा नाम र सूर्य चिन्हको प्राबिधिक कुरामा किन अल्झेर बस्नुपर्‍यो ? विश्वास र आधार तयार हुँदा कलम चिन्ह लिएर नै राष्ट्रिय सभामा डाक्टर खिमलाल विजय गराउनु भएको उदाहरण ताजै छ । प्राबिधिक कुरा नाम र चुनाव चिन्ह नै सबथोक होइन । निष्ठा नीति नियम र नियत सफा हुँदा पार्टी बन्न गार्हो छैन ।

चुनाव जित्न चुनाब हार्न पनि तयार हुनुपर्छ । चुनाव हार्नु नै राजनीति समाप्त हुनु र जिन्दगी बर्बाद हुनु होइन अर्को चुनावमा जित हाँसिल गर्ने आधार तय गर्नु पनि हो । ओलीले फालेको कपटपूर्ण पासामा सँधै पर्दा पनि चेत किन आउन सकेको छैन । ओलीले फालेको छ बुँदे टालोलाई कतिपय तपाईंका समर्थक र अनुयायीले लाज ढाक्ने वस्त्र र अस्त्रको रूपमा ब्याख्या गरेर ओलीसँग मिल्न दबाब दिदै छ्न भने कति ओलीले आफैंसँग राखेको मन्त्रालयरुपी हरियो घाँस देखेर उनको टाटनोमा बाँधिन जान हतारिएको पनि दृश्य देखिन्छ । यी सबबाट तपाई अनभिज्ञ हुनुहुन्न्न।  ओलीलाई विश्वासको मत दिएको भए ओखलमा राखेर दुई वर्ष सम्म हामीलाई चामल फले झै फल्थे भनेर आफै भन्नू हुन्छ अनि जीवनभर ओलीको क्रुरताको जाँतोमा पिसिन अझै मन्जुरी दिने मन किन बनाउनु हुन्छ ? ओलीले धज्जी उडाएको कम्युनिस्ट पार्टीको जग हल्लाएर कति टिक्नु हुन्छ ? पुरानै घर मर्मत गर्ने चाह राख्न हुन्छ । बनाउनुस नयाँ घर खन्नुस नयाँ घडेरी । गर्न लगाउनुस नयाँ घरको डिजाइन ? नयाँ घरको डिजाइन गर्न सक्ने क्यापेबल थुप्रै युवा इन्जिनियर तपाईसँग छ्न । तिनलाई विश्वास गर्नुस् । तपाईंको बलियो सारथि पूर्व प्रम झलनाथ खनाल पनि हुनुहुन्छ । उहाँ पनि एक व्यक्ति होइन सस्था पनि हो । तसर्थ के कमी छ तपाईंसँग ? नयाँ घर बनाउन तपाईं सँग थुप्रै ज्यामी, सिकर्मी, डकर्मी, मिस्त्री र इमानी लेबर छ्न माया गर्ने राजनीतिक छिमेकी पार्टीहरु छ्न । काङ्ग्रेस र माओवादी केन्द्र ओलीसँग भन्दा तपाईंसँग निकटता राख्न मन पराउछ्न । जन साधारणमा माधवलाई ओलीले नगनेको आरोप र सहानुभूति छ । जोस जांगर भरिएका नेताकार्यकर्ताहरुको ताँती देशभरमा छ भने नयाँ घर बनाउने त्यो तागतलाई किन ओलीको पाउमा समर्पण गर्न चाहनु हुन्छ ?

यदि तपाईं ओलीमै बिलिन हुन राजी हुनुभयो भने तपाईका स्वाभिमानी कार्यकर्ता तपाईंको जय भन्दै सबै पछि लाग्दैनन । नयाँ बाटो रोज्छ्न केही पलायन हुन्छन् केही बिद्रोही बन्छन् त केही मानसिक पिडा बोकेर बाँच्छन् । बृहत् कम्युनिस्ट केन्द्र  निर्माण गर्ने र सबैलाई ओली बाहेक गोलबद्द गर्ने अवसरको रूपमा पनि लिनु ठिक हुनेछ । सबै आपद संकट मात्रै होइनन् कतिपय अप्ठ्यारा परिक्षा लिन आएका अवसर पनि हुन । नेपाली भुमि उसै पनि कम्युनिस्टहरुको लागि मलिलो र उर्वर भुमि हो । यहाँ जतासुकै बाली छरे पनि कम्युनिस्ट बिज फस्टाउछ । तसर्थ खुट्टा कमाउने र ओलीको सरण पर्ने बहाना नखोज्नुस । बरु परिक्षण हुन बाँकी युवा नेता र नेतृत्व अघिलाएर आफू संरक्षक अभिभावक बन्नुस। तर योगेश भट्टराई जस्ता पिपलपाते र अवसरवादी कार्यकर्ताको विश्वास गर्नु भयो भने बचेखुचेको प्रतिष्ठा पनि सकिने छ । दरिलो काँध भएका रामकुमारी झाँक्री जस्ता स्पष्ट अडान र बोलीका पक्का धेरै युवा कमरेडहरु छन् तिनलाई सारथि बनाउनुस एक चुनाव हारिएला तर राजनीति हारिदैन ।

विभिन्न जनवर्गीय संगठन र तिनको नेतृत्वमा पनि जल्दाबल्दा कार्यकर्ता आउने वातावरण बनाउनुस । अखिल जो कम्युनिस्ट उत्पादनको नर्सरी हो त्यसको लागि पनि होनहार र ईमानदार नेतृत्व छान्ने व्यवस्था गर्नुस् । कम्युनिस्ट हुनु भनेको दास र नोकर चाकर हुनु होइन विवेक बुद्धि र प्रतिष्ठा सहित तर्क गर्ने, तर्क सुन्ने र सामद माधव कमरेड , 

तपाईंले पुस ५ गते प्रतिगमन भयो भने देखि सडकमा सँधै लडने र प्रदर्शन गर्ने तपाईंको जनवर्गीय संगठनमा अखिल जतिको शसक्त संगठन अरु छैन र आज पनि सडकमा उ एक्लै खबरदारी गरिरहेछ । त्यस्तो जुझारु संगठन जहाँ आफ्नो ज्यानको माया मारेर कति अखिलका युवायुवतीहरु संघर्षरत छन् । हेर्नुस आन्दोलनका क्लिप र भिडियोहरु कति भाइ बैनीहरु बिशेशत धेरै बैनीहरुको योगदान देखिन्छ ती भविस्यका होनहार छात्राहरु के का लागि लडाइँ गर्दैछन् । तिनीहरूको भावना बुझ्नु भएको छ ? तिनीहरू ज्यान माया मारेर उत्रेका केवल आफ्नो राजनीति सुरक्षित गर्न मात्रै हो त ? पक्कै होइन उनीहरू देश थितिमा चलोस चलेन भनेर मैदानमा उत्रेका छन् । बिधिको शासन र प्रणाली चुस्त दुरुरुस्त हुनुपर्छ उनीहरुको ध्येय देखिन्छ । लोकतान्त्रिक बिधि बिनाको शासन जोकोहीले गरेको भए नि छोडन सकिदैन अखिलका छात्रछात्राको अटल विश्वास बुझ्न सकिन्छ । तपाईंको अखिल त्यस्तो बनाउनुस जसले तपाईंलाई समेत प्रश्न र खबरदारी गरोस् । अन्यायको विरुद्ध सँधै धावा बोल्ने धारिलो अखिल पाइन हालेको अखिल निर्माण गर्न मार्गदर्शन गर्नुस तपाईंको पार्टीले गति लिनेछ । आफ्नो उर्वर नर्सरीलाई भाइरस लाग्नबाट मात्रै जोगाउनु भयो भने तपाईंको पार्टी निर्माणको अभिभारा ५० प्रतिशत पूरा हुनेछ ।

प्रिय कमरेड, आज म यतिबेला अरुण तेस्रो तुहाउने तपाईंको गलत कदम, महाकाली परियोजनाको वकालत र दुई दुई  ठाँउमा चुनाव हार्दा पनि प्रधानमन्त्री बन्न जाने नैतिकता इमान र निष्ठा बारे केही भन्दिन त्यसयता महाकालीमा धेरै पानी सँङलो र धमिलो भै सक्यो । विगतले धेरै सिकायो,पढायो , चेतायो । व्यक्तिगत स्वभाव शैली निष्ठा र आदर्शमा कतिपय अवस्थामा चुक्दा चुक्दै तपाईं कम खराब मध्यकै नेताको श्रेणीमा पर्नु हुन्छ । तपाईंको सरलता धेरैले तारिफ गर्छन् । दक्षिण एसियामा नै सबैभन्दा ब्यबस्थित पार्टी र पार्टी संरचना तपाईंको पाला कै योगदान हो । भलै तपाईं र तपाईंको पार्टीले चुनाव हार्यो तर त्यतिबेला सम्म राजनीति हारेको थिएन । आफू प्रमुख हुँदा चुनावमा पराजित बनेको दोष आफ्नो थाप्लोमा राख्दै कम्युनिस्ट पार्टीको शक्तिशाली महासचिवबाट राजीनामा दिनु परम्परागत कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक चरित्रमा रुपान्तरण गर्न व्यक्तिले देखाउने उच्च्तम नैतिकता रहेको कुरा सर्वविदितै छ । राजनीतिमा इमान नहारेको कारण नै चुनाव हार्दा पनि तपाईंको संसदमा अपरिहार्यता र महत्त्व तत्कालीन ताजा बिद्रोही नेकपा माओवादीका नेता प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता गिरिजा प्रसादले महसुस गरे । त्यति मात्रै होइन तपाईंलाई प्रधानमन्त्री बनाएर काँध थाप्न मर्ने बेला गिरिजाको बुढो काँध अधि सर्यो । त्यो उस्सै सम्भव भएको होइन ? तसर्थ तपाईं कमजोरी सहित नेपाली राजनीतिमा महत्त्व बोकेको नेता हुन्हुन्छ ।

नेकपा एमालेको कमरेड मनमोहनले नेतृत्व गर्नु भएको नौ महिने शासनकालको उपप्रधानमन्त्री भएर मनमोहनलाई  कार्यकारी काममा सघाएको अपूर्व अवसर पनि यहाँलाई प्राप्त छ । यथेष्ट राजनीतिक पुँजी भएको माधव नेपाललाई नयाँ राजनीतिक पार्टी बनाउन कुनै साइत कुर्नु पर्दैन । समयको माग हो ओलीको प्रतिशोध र कार्बाही । यद्यपि माधव नेपाल लचिलो बन्न खोज्दै हुनुहुन्छ अब पनि लचिलो हुनु भनेको भांचिनु हो । त्वम शरणं गर्नु हो । दुई पाइला पछि हटने अनेकौं प्रयत्न बिफल भए पछि अब कदम अघि बढाउने हो पछि हटने होइन । नहिडनु हिडिसके पछि ओलीको अविश्वास प्रस्ताब बहिस्कार गर्नु भन्दा विपक्षमा मतदान गरेर जानू पर्थ्यो । संसदको पद जाँदा बर्तमानमा सुख सुबिधा पद ओहोदामा घाटा भए पनि भविष्यमा राजनीतिलाई बेफाइदा हुँदैनथ्यो । संसद पद त्याग गरेर राजनीतिक रूपमा मोहन वैध कहिले अपमानित भएका छन् र ? बरु पद भन्दा राजनीति सिद्धान्तवादी कहलिएका छन् । पार्टी सानो भएको कारण मोहन वैधको राजनीतिक उचाइ होचो भएको छ र ? पद सबथोक होइन । भर्खरै मृत्यु भएका उज्वल थापाले पाएको सम्मान देख्नु भएकै होला ?

माधव कमरेड ,पार्टी फूट र बिभाजन निस्चय नै राम्रा कुरा होइनन् । पार्टी फूटमा होइन एकतामा बल हुन्छ सामर्थ्य हुन्छ । तर एकताले तागत देखाउन नसके पछि र सँधै सँगै जाने स्थिति नबनेपछि रोज्नुपर्ने विकल्प बिभाजन या आत्मसमर्पण हो । कहिलेकाही पिडादायी र निर्मम निर्णय गरेर अघि बढनु पर्ने अनिवार्यता रह्न्छ । तसर्थ आफ्नो स्वाभिमान बचाउन तपाईं फूटकाे अगुवाइ गर्नुस आजको फूट भोलिको बृहत बाम एकताको आधार बनोस् । यो सब्द र अनुरोध सुन्दा अप्रिय र कटु लाग्न सक्छ तर म भन्छु तपाईंहरु नेकपा ओली र माधव झलनाथ फुटनुमा निकास छ । फुटनुस प्लिज !

हिजो कम्युनिस्ट अनेकता हुँदा देश बनेन, कम्युनिस्ट मिल्नुपर्छ र जनमतको कदर गर्नुपर्छ भन्ने मान्छे म आज नेकपा एमाले फुटन अनुरोध गर्दैछु । जुटदा पनि काम गरेर सरकार चलाउन नसकेपछि फुटको आवश्यकता र औचित्य प्रमाणित भएन र ? अब पनि अहिल्यै कुनै मिलन बिन्दु छ र ? ओली आफू सच्चिन होइन तपाईंहरुमाथिको कार्बाही फिर्ता लिएर क्षमा दान दिने मूडमा मात्रै छन् । माधव नेपाल ज्यु , असली शुभेच्छुकले अप्रिय कुरा गर्छन् तर यथार्थ । खराब कुरा मिठोसँग गर्नु भन्दा राम्रो कुरा तितोसँग नै भए नि गर्नु उत्तम हो । यद्यपि पार्टीगत रूपमा म तपाईंको समर्थक भोटर र कार्यकर्ता केही पनि होइन म सर्वसाधारण भुइँ मान्छे हुँ । तर नेपालको आजको आवश्यकता नेकपा एमाले फुटनु नै हो अन्यथा देशले सहज निकास पाउदैन ।

बिभाजन आफैमा राम्रो कुरा होइन तर अपवाद बिभाजनले राम्रो परिणाम ल्याउन पनि सक्छ । कम्युनिस्ट हुनु भनेको कायर र पानी मरुवा हुनु त होइनन् नि ? परिस्थितिको आंकलन गरेर हिमम्तिला पाइला चाल्नु पनि हो ।  परिणाम चुनावी तत्कालको जितहार होइन राजनीतिलाई लिकमा लैजानु । पार्टीहरुमा सक्रियता क्रियाशिलता र सिर्जनात्मक प्रतिस्पर्धा विकास गर्नु पनि हो । एउटा असल र सिद्धान्त निष्ट पार्टी बन्नु भनेको अरु पार्टी र नेताकार्यकर्ताको लागि च्यालेन्ज हो । देस बिग्रेको एउटा मात्रै पनि पार्टी गतिलो नभएर हो भन्ने मेरो विश्लेषण छ ।प्रिय कमरेड , पार्टी बिखन्डन गर्दा घर जलाएर खरानीको व्यापार गर्ने मान्छे भनेर तपाईंको कटु आलोचना हुनेछ तर पिडा पचाएर पनि दुख सहेर पनि कम्युनिस्ट आन्दोलनको प्रगतिशील धार केही मात्र भए पनि बचाउन तपाईंको लागि अप्रिय तर बिभाजन नितान्त जरुरी देखिन्छ । कमरेड सानो मुखले ठूलो कुरा बोले । तपाईंको बुता र हुतिमा धमिरा नलागोस् स्वास्थ्यका दृष्टिकोणले पनि राजनीति जस्तै असहज छ । ख्याल राख्नु होला पार्टी स्वास्थ्य र आफ्नो स्वास्थ्यको । राजनीतिको स्वास्थ्य जटिलता र महामारीको विषम परिस्थितिमा संक्रमण छिटो सकियोस् । शुभकामना !
तपाईंको भलो चाहने रैती 
सन्जिव कार्की 

प्रतिक्रिया दिनुहोस्