
डोलराज रानाभाट
चितवन । चितवन सिद्धिकास्थित पहाडको भिरालोमा रहेको सानो जग्गा, खरले छाएको छानो समेत भत्किएको कैयौं दिन भयो । तर, सुर्खबहादुर चेपाङलाई कुनै पीर छैन, बरु साथमा भएका लालाबाला र आफ्नो भोक मेटाउने पिरोलोले पिल्सिरहेका छन् उनी ।
समयमै उपचार नपाएर श्रीमती गुमाउनुपरेको पीडा आलै छ । चामल र मकै सकिएर गिठ्ठा भ्याकुर खान थालेको धेरै दिन भयो । तर, त्यहि गिठ्ठा पनि छिप्पिएर कोक्याउने तीतो हुन थालेको छ अचेल । साथमा रहेकी छोरी निषेधाज्ञाले विद्यालय बन्द भएपछि घरमै छिन् । तर, घरमा खानेकुरा नहुँदा उनको मन पनि भक्कानिएको छ ।
६ महिना सहकाल ६ महिना अनिकाल चेपाङहरूको बाध्यतानै भइसक्यो । वर्षौ भयो चेपाङहरूले यस्ता पीडा पोखेको । तर, सत्ताको बागडोर सम्हालेकालाई उनीहरूको रोदनले कहिल्यै छोएन । दिनप्रतिदिन थपिदो लकडाउन र कोरोना संक्रमणले उनीहरूको दैनिकी निकै कष्टकर बनेको छ ।
हातमा भएको सीप प्रयोग गरी बुनेका डोको र नाम्लो पनि बिक्री गर्न नपाएको स्थानीय यमप्रसाद चेपाङको गुनासो छ । ‘मजदुरी गरेर खाने समुदाय भएकाले कोरोनाका कारण बाहिर निस्कन पाएका छैनौं,’ यमप्रसाद भन्छन्, ‘आफ्नै सीपले बुनेका चिजहरू पनि बेच्न पाएका छैनौं, साह्रै दुःख छ ।’
उक्त क्षेत्रका जिङलाउ, गोदारा, ताङकुम, नान्दार, पाइमाराङ, घैराङ, दमियोडाँडा बाँसपानी लगायत क्षेत्रका चेपाङहरूको अवस्था दयनिय रहेको भन्दै चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बढ्दो भोकमरीमा चेपाङलाई बचाउन आग्रह गर्नुभएको छ ।
प्रशासनले निषेधाज्ञा लम्ब्याइरहेको छ । तर, खाना सकिएर चिसो भुइँमा दिन–रात कटाइरहेका चेपाङ समुदायलाई भने कसैले सम्झेको छैन । निषेधाज्ञाका कारण भोकमरीको चपेटामा परेका चेपाङहरूको चिन्तालाई सम्बोधन गर्न सरोकारवालाहरू ध्यान दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्