
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन संकटमा पर्ने देखिएको छ । क्रियाशील सदस्यता विवाद, कोराना महामारी र मुलुकको तरल राजनीतिक अवस्थाले आगामी भदौ ७ देखि १० गतेसम्म तय गरिएको महाधिवेशन संकटमा पर्ने देखिएको हो । नियमित विधि र प्रक्रियाबाट तोकिएको समयमा महाधिवेशन हुन नसक्ने अवस्था आएपछि कांग्रेसभित्र वैकल्पिक उपाय खोज्न थालिएको छ ।
महाधिवेशन आउन दुई महिना मात्र बाँकी रहदा पनि कोरोना महामारी र आन्तरिक विवादले महाधिवेशन केन्द्रीत तयारी सुस्त छ । महाधिवेशनको आशंका र अन्योल बढ्दै गइरहेको बेला कांग्रेसका ७ जना युवा नेताहरूले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आसन्न महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न सुझाव दिएका छन् ।
नेताहरूले केन्द्रीय तहका नेता छान्न जिल्ला जिल्लामै मतदान गर्ने गरी व्यवस्था गर्न र प्रतिनिधि संख्याका आधारमा बुथ तय गरी निर्वाचन प्रक्रियामा जान सकिने प्रस्ताव गरेकाे केन्द्रीय सदस्य धनराज गुरुङ बताउनुहुन्छ । ‘एउटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि २५ जनामात्र हुन्छन्,’ उहाँले भन्नुभयो, ‘ती पदाधिकारीहरूले सदरमुकाममा जम्मा भएर केन्द्रको प्रतिनिधिको लागि मतदान गर्दा खासै भीड पनि नहुने भएकाले यसरी अघि बढ्न सुझाव दिएका छौं ।’
पार्टीको विधान र संविधानले दिएको सबै समयावधि उपभोग भइसकेको र भदौमा पनि महाधिवेशन नभए पार्टीको वैधानिकता समाप्त पारेको आरोप लाग्ने देखेका सभापति देउवा पनि युवा नेताहरूले गरेको प्रस्तावप्रति सकारात्मक देखिएका छन् । दिन प्रतिदिन समयको चाप बढ्दै गए पनि अझै महाधिवेशनका मतदाता नै टुङ्गो लाग्न सकेको छैन ।
कांग्रेसले यसपटक अनलाइनमार्फत सदस्यता नविकरण र नयाँ सदस्यताको विवरण संकलन गरेको छ । अहिलेसम्म आठलाख बढी सदस्यको विवरण प्राप्त भएको छ । कतिपय जिल्लामा अझै विवाद छ । प्राप्त क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी उजुरी आह्वान गर्ने र छानविन गर्ने काम सुरु भएको छैन ।
विवादित जिल्लालाई थाँति राखेर भए पनि क्रियाशील सदस्यता छिटो टुङ्गो लगाउन सभापति देउवासँग आग्रह गरिएकाे नेता गुरुङकाे भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘क्रियाशील सदस्यता टुङ्गो लगाउन हप्ता दिन बढाउने हो भने आन्तरिक कार्यतालिकालाई संशोधन गर्न सकिने ठाउँ छ ।’
महाधिवेशन केन्द्रीत पछिल्लो कार्यतालिकाले तय गरेको वडा र पालिकास्तरको अधिवेशन प्रभावित हुने निश्चित भएको छ । पुरानै विधि र प्रक्रियालाई अपनाएर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने नेताहरूको निष्कर्ष छ ।
गत फागुन ६ गते केन्द्रीय समितिबाट स्वीकृत महाधिवेशन कार्यतालिका अनुसार असार ५ मा वडा, ७ मा गाउँनगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्नुपर्छ । यस्तै, साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्