
बिराज रोस्यारा
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेको जवाफ दिएका छन् ।
संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् ।
संसदीय दलका नेतालाई प्रदेशसभा सदस्यले बुझाएको पत्रमा भनिएको छ, ‘एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले जारी गरेको च नं ३२ को पत्रअनुसार प्रदेशसभा सदस्यहरूको अनिवार्य उपस्थिति गराइ मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत लिने प्रस्तावको विरुद्धमा मतदान गर्न केन्द्रको निर्देशन अनुसार ह्वीपको पालना गरी पार्टी विधि, विधान, सिद्धान्त र निर्णय अनुसार नै मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार विरुद्ध मतदान गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’
साथै दलको ह्वीप उल्लंघन गरेको आरोप लगाएको प्रति ध्यानाकर्षण भएको उनीहरूले बताएका छन् । प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने समेत उनीहरूले उल्लेख गरेका छन् ।
मंगलबार एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको ह्वीप विपरीत प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हालेको भन्दै ओली पक्षीय सात जनालाई स्पष्टीकरण सोधेका थिए । उनले चित्त बुझ्दो जवाफ प्राप्त नभएमा कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।
प्रदेशसभा सदस्यहरू पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको थियो ।
प्रतिक्रिया दिनुहोस्