२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


२ वर्षमा सय मुलुकलाई ५० करोड डोज खोप दिने बाइडेनको घोषणा


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी दुई वर्षभित्र एक सय मुलुकलाई ५० करोड डोज कोरानाविरुद्धको फाइजर खोप उपलब्ध गराउने बताउनुभएको छ ।

उहाँले यसै वर्ष करिब २ करोड डोज खोप उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना रहेको राष्ट्रपति बाइडेनको भनाइ छ ।

खोप पाउने देशहरुमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहने बताइएको छ ।

गरिब राष्ट्रहरुलाई खोप उपलब्ध गराउन अमेरिकामाथि दवाव आएसँगै बेलायत भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले आगामी दुई वर्षभित्र सो खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

उहाँले विश्वमा कोरानाविरुद्धको खोप उपलब्ध गराउन आफ्नो विशेष रणनीति रहेको पनि उहाँले बताउनुभयो ।

यसै हप्ताको सुरुमा जी सेभेन समूहका राष्ट्रहरुले पनि गरिब देशका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक एक साता लामो भ्रमणमा बेलायत पुग्नुभएका बाइडेनले नाटो शिखर सम्मेलनमा पनि भाग लिने बताइएको छ ।

यस्तै उहाँले बेलायतका राजपरिवारका सदस्यहरुसँग पनि औपचारिक भेटवार्ता गर्ने समाचारमा जनायएको छ ।

यस्तै बाइडेनले युरोप यात्राको अन्त्यमा रुसी राष्ट्रपति भ्लादिमी पुटिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।