बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोध गर्ने छ जना पक्राउ • Image Khabar Image Khabar


बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोध गर्ने छ जना पक्राउ


Imagekhabar
२७ जेष्ठ २०७८, बिहीबार १५:५१

बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोध गर्ने छ जना पक्राउ

काठमाडौं । झापाको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन लागिएको विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा. केसी अलायन्सका छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको अलायन्सका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

अलायन्सले विज्ञप्तिमा भनिएको छ, ‘जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रूपमा झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन् ।’

वैध आसयपत्र नै नभएको उक्त अस्पताललाई अदालतमा मुद्दा विचाराधीन रहेको बेला प्रधानमन्त्रीको ठाडो हस्तक्षेपमार्फत सम्बन्धन दिने कोशिस भइरहेको उनीहरूको आरोप छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, काठमाडौं विश्वविद्यालय ऐन २०४८ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को प्रतिकुल हुने गरी सम्बन्धन दिन प्रयास हुनुले देशका प्रधानमन्त्री आफैंले कानुनी राजको उपहास गरिरहेको देखाउँछ ।’

साथै अलायन्सले पक्राउ परेका आफ्ना सबै साथीहरूलाई तत्काल विनाशर्त रिहा गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्