
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदमुक्त हुनुभएको छ ।
बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनुभएको हो ।
५८ सांसद् उपस्थित रहेको प्रदेशसभामा २७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने ३० जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले मतदान गर्नुभएन ।
गुरुङको पक्षमा नेकपा एमालेका सांसद्ले मतदान गरेका थिए भने विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले मतदान गरेका थिए ।
गत वैशाख २७ गते गण्डकी प्रदेश प्रमुख सीतादेवी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङ ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्थ्यो ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि ढोका खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्