
नवीन सिंह
जनकपुरधाम । प्रदेश २ सरकारले स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभामा बिहीबार प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रस्तुत गर्नुभएको हो ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशको प्रत्येक जिल्लामा विकास निर्माणलाई तीव्रता दिन एक जिल्ला एक प्रादेशिक नमुना परियोजना बनाउने नीति प्रदेश सरकारको रहेको उल्लेख छ । प्रदेश सरकार सुशासनप्रति प्रतिबद्ध रहेको जनाउँदै प्रदेश भित्र भ्रष्टाचार नियन्त्रण गर्न तथा सेवा प्रवाह चुस्त, दुरुस्त बनाउन प्रदेश सुशासन आयोगको गठन गर्नेगरी आयोगलाई प्रभावकारी बनाइने निति लिइएको छ ।
प्रत्येक जिल्लामा अतिथि सदन र जनकपुरधाममा मधेश सम्मेलन केन्द्रको स्थापना गरिनुका साथै चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिइएको छ । कोरोना परीक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सिमान्तकृत समूदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने प्रदेश सरकारले नीति लिएको छ ।
त्यस्तै जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शय्याको अस्पतालको रूपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तीमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने उल्लेख रहेको छ । स्वास्थ्य क्षेत्रलाई मजबुुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य नीति ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्शिता ल्याउन प्रभावकारी कदमहरू चालिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरूको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम, जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने, एउटा ट्रमा सेन्टरको स्थापना लगायतका कार्यक्रमहरूले निरन्तरता पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्