
विराज रोस्यारा
कैलाली । सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम टालटुले र कर्मकाण्डी भएको प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् । कोरोनाका नाममा केही नयाँ योजना थप गरिएको भएपनि बाँकी सबै पुरानै योजनालाई निरन्तरता दिएको उनीहरुको आरोप छ।
नीति तथा कार्यक्रम अधिकांश पुरानै योजना समेटेर टालटुले र कर्मकाण्डी ल्याएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलको आरोप छ । नेकपा ऐमालेभित्रको लडाइका कारण प्रदेश सरकारले गृहकार्य बिना नीति तथा कार्यक्रम सार्वजनिक गरेकोसमेत रावलले बताउनु भयो ।
प्रधानमन्त्री ओली पक्षका नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य लिलाधर भट्टले भारतलगायतका देशबाट फर्केका नागरिकलाई स्वदेशमै रोजगारी श्रृजना गर्ने खालका योजना समेट्न नसकेको आरोप लगाउनु भयो । जनताले राहत पाउने भन्दा पनि पर्यटन, तटबन्धन जस्ता परम्पराका कुरा मात्र नीति तथा कार्यक्रममा राखिएको उहाँले बताउनु भयो ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई भने सत्ता पक्षका सांसदले बचाउ गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य महेशदत्त जोशीले सरकारले कोरोनाबाट शिथिल बनेको अर्थतन्त्र गतिशील बनाउने र विदेशबाट फर्केका नागरिकलाई स्व–रोजगार बनाउने गरि बजेट आएको बताउनु भयो ।
पर्यटकीय क्षेत्रलगायत केही अन्य क्षेत्रको बजेट कटौटी गरेर कृषिको कार्यक्रम बढाएको बताउँदै उहाँले कृषक अनुदान दिएर स्वरोजगार बनाई यूवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने बताउनु भयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा सरकारले छुट्याएको बजेट अपुग भएको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम बिहीवार प्रदेश सभामा सार्वजनिक गर्नु भएको थियो । नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र त्यसले पारेको प्रभाव न्यूनीकरण पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्