
काठमाडौं, वैशाख ३ । भारतमा हरेक वर्ष हुँदै आएको ‘ट्वेन्टी–२० फ्रेन्चाइज लिग’ इन्डियन प्रिमियर लिग (आइपीएल) अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बुधबार बिहान कोरोनाभाइरसको महामारीका कारण आइपीएल अनिश्चितकालसम्मका लागि स्थगित गरेको जानकारी दिएको हो ।
बीसीसीआईले सहभागिता जनाउने आठै टिमलाई प्रतियोगिता स्थगित भएकोबारेमा जानकारी गराइसकेको छ ।
नेपाली स्पिन बलर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट तेस्रोपटक खेल्दैछन् ।
कोरोनाका कारण भारतमा वैशाख २१ गतेसम्मका लागि ‘लकडाउन’ गरिएको छ ।
बीसीसीआईले बिनादर्शक भएपनि आइपीएल गराउने सोच बनाएको भएपनि लकडाउन नै लम्बिएपछि दोस्रोपटक तोकिएको तालिकामा पनि आइपीएल नभएको हो ।
बीसीसीआईले यो वर्षको अन्त्यसम्म भएपनि आइपीएल गराउने योजना रहेको जनाएको छ ।
कोरोनाका कारण विश्वका सबैजसो अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित हुँदा आइपीएल पनि स्थगित भएको हो ।
भारतमा पनि कोरोनाका संक्रमितहरु दिनानुदिन बढ्दैछन् । भारतमा अहिलेसम्म ११ हजार ५५५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ३९६ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्