
सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्य वितरण तथा नवीकरणमा पार्टी जिल्ला सभापतिले मनोमानी गरेको आरोप लागेको छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापति नागेन्द्र कुमार रायले स्वेच्छाचारी ढङ्गले क्रियाशील सदस्यता वितरण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूको आरोप छ । पौडेल समूहका नेताहरूले शनिबार हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ती हावी भएको उनीहरूको आरोप छ ।
पौडेल समूहका नेताहरूले अहिलेको गतिविधि पार्टी विधान विपरीत रहेका कारण पुराना कार्यकर्ताको मनोबल खस्कनुका साथै पार्टी सांगठनिक हिसाबले कमजोर हुने भएकाले आफ्ना कदमहरू तत्काल सच्याउन जिल्ला सभापतिसँग माग गर्नुभएको छ । क्रियाशील सदस्यता दिँदा वडा कमिटीबाट विभिन्न समिति हुँदै माथिल्लो निकायमा पुग्नु पर्ने भए पनि त्यसो हुन नसकेको नेताहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्