१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनसुन भित्रिएसँग काठमाडौंमा रोपाइँ सुरु, निषेधाज्ञाले समस्या परेको किसानको गुनासो


0
Shares

काठमाडौं । मनसुन भित्रिएसँगै काठमाडौं उपत्यकाका किसानहरूलाई धान रोप्ने चटारो बढेको छ । उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ मानिन्छ । बढ्दो शहरीकरणले धान फल्ने खेतमा घर ठडिएका छन् ।

तर, उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमिन बाँकी नै छ । यिनै काँठ, ढाप र डोलहरूमा धान रोपाइँ सुरु भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ ।

काठमाडौंमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ भने पछिल्लो समय काठमाडौंको धानमा वर्णशंकर बिउले विकृति ल्याएको किसानहरू बताउँछन् । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर वर्णशंकर धान लगाउँदा स्थानीय धानको जात मासिएको अगुवा किसान उद्धव अधिकारी बताउनुहुन्छ ।

स्थानीय जातको धान हराउँदा धान चामल सँग जोडिएको संस्कृति पनि हराएको उहाँको बुझाइ छ । यसको अर्को असर स्थानीयवासीको पोषण चक्र समेत भत्किएको छ । यसपालिको धान रोपाइँ विगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइँको काम गर्नुपरेको छ ।

संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ । ललितपुर छम्पी क्षेत्रको खेतमा भेटिएका किसान राम चन्द्र तामाङले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताउनुभयो । निषेधाज्ञाले घरबाट खेत सम्म आउजाउ गर्न र मल, विषादी आदी किन्न समस्या परेको किसानहरूको गुनासो छ ।