सिक्किमलाई हराउँदै आर्मी उपाधिनजिक

news

विशाल नेम्वाङ (इमेज)

झापा, कात्तिक २२ । त्रिभुवन आर्मी क्लब झापामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले भारतको सिक्किम एफसीलाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गरेको हो ।

निर्धारित् समयको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।

‘पेनाल्टी सुटआउट’मा सिक्किमका वीरेन प्रधान, मनोज काच्वा र करण राईलेमात्र गोल गरे । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो ।

आर्मीका लागि दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।

जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...