२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो


0
Shares

एजेन्सी । इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएको छ ।

दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले हिजो संसदमा ६० मत पाएपछि नेतेन्याहू प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् ।

योसँगै उनले नयाँ गठबन्धनको सरकारलाई सत्ता हस्तान्तरण गरेका हुन् । नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिना पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन् ।

त्यसपछिको दुई वर्षका लागि यायर लेपिड प्रधानमन्त्री बन्नेछन् । इजरायलमा बनेको नयाँ सरकारसँग विपक्षी गठबन्धनभन्दा केवल एक सिटमात्रै बढी छ ।

नयाँ सरकारमा पहिलो पटक सहभागि भएको एउटा दलले २१ प्रतिशत अरब अल्पसंख्यकको प्रतिनिधित्व गर्दछ ।

इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास लिइएको छ ।

नेतेन्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन् । नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन् ।

उनले छिटै नै नयाँ सरकार छिट्टै ढालिदिने चेतावनी समेत दिएका छन् ।