छवि फेर्दै महतो

news

अक्कल कुँवर र योगेश लामा (इमेज)

काठमाडौं, कात्तिक २३ । क्षेत्रीय दलबाट राजनीति गरेपनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतो राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चर्चित नाम हो ।

पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका महतो नेपालको राजनीतिमा विवादमा पर्ने नेताहरुमा पर्छन् ।

विशेषगरी पहाडी समुदायप्रति राख्ने असहिष्णु भावनाले महतोलाई साम्प्रदायिक एकताविरोधी नेता भनेर आलोचना गर्नेहरु पनि प्रशस्त छन् ।

तर, पछिल्लो समय नेता महतोले साम्प्रदायिक एकताविरोधी र पहाडी समुदायप्रति असहिष्णु भाव राख्ने नेताको छविमा सुधार गर्दै लगेका छन् ।

प्रजातन्त्र प्राप्तिको आन्दोलन होस् वा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा राजेन्द्र महतोले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

तर, संविधानप्रति असहमति जनाउँदै मधेसमा आन्दोलन सुरु भएपछि महतो एकाएक पहाडी समुदायविरोधी नेताकारुपमा चिनिन थाले ।

मधेस आन्दोलनकाक्रममा दिएका असहिष्णु अभिव्यक्तिले उनी पहाडी समुदायको नजरमा साम्प्रदायिक एकताविरोधी नेताकारुपमा चिनिए ।

यद्यपि, २०७२ साल असोजमा जारी संविधानलगत्तै मधेसमा चर्किएको आन्दोलन र नाकाबन्दीमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।

स्पस्टरुपमा आफ्नो धारणा राख्नसक्ने र खरो व्यक्तिकारुपमा चिनिने महतो पदमा रहँदा होस् या नरहँदा पटक–पटक विवादमा पर्ने गरेका छन् ।

पछिल्लो समय भने महतोका अभिव्यक्तिले पहाडी समुदायप्रतिको आफ्नो छवि सुधार्दै लगेको देखिएको छ ।

पहाडी नश्लवादी राष्ट्रवादविरुद्ध आफ्नो धारणा परिवर्तन नभएको तर शैली भने परिवर्तन भएको महतो स्वीकार गर्छन् ।

संविधानको विरोधमा मधेसकेन्द्रित दलहरुले ६ महिना लामो आन्दोलन गरेपनि उद्देश्य प्राप्त गर्न भने सकेनन् ।

एउटा समुदायलाईमात्र समेटेर आन्दोलन गर्दा उद्देश्य पूरा नहुने बुझेपछि उनीहरु अब असन्तुष्ट सबै पक्षलाई समेट्ने रणनीतिमा लागेका छन् ।

नेता महतोले विगतको पाठ सिकेर मुलुकभरकै उत्पीडित समुदायलाई समेटेर अधिकारका लागि लड्ने बताए ।

पछिल्लो समय मधेसकेन्द्रित दलका नेताहरु संविधान संशोधनलगायतका मागहरु सम्बोधन गराउनका लागि संविधानप्रति असन्तुष्ट अरु पक्षलाई समेट्ने रणनीतिमा लागेका छन् ।

नेपालको राजनीतिका चतुर खेलाडी र दक्षिणी छिमेकी मुलुकसँग पनि राम्रो सम्बन्ध भएका नेता महतो पुरानो छवि परिवर्तन गर्दै आफूलाई क्षेत्रीय नेताबाट राष्ट्रिय नेताकारुपमा स्थापित गर्न लागेको कतिपयको बुझाइ छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...