
विराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि खडा गरेको कोषले जम्मा गरेको ५९ करोडमा ५६ करोड खर्च भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका मोहनराज जोशीले कोषमा प्रदेश सरकारको ५५ करोड समेत गरेर हालसम्म ५९ करोड ३८ लाख बजेट जम्मा भएकोमा ५६ करोड ४० लाख खर्च भएको बताउनुभयो । पहिलो चरणको संक्रमण फैलिएका बेला खडा गरिएको कोषमा प्रदेश सरकारले गत वर्ष ४० करोड र चालु वर्षमा १५ करोड रकम कोषमा जम्मा गरेको उहाँको भनाइ छ । यस्तै विभिन्न पदाधिकारी, कर्मचारी, उद्योगी, व्यापारी, संघसंस्थाबाट ४ करोड ८७ लाख रुपैयाँ जम्मा भएको जोशीले बताउनुभयो ।
तर उता प्रदेश सरकारले खडा गरेको कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट मनपरी खर्च भइरहेको आरोप पनि लागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारले कोरोना नियन्त्रणका नाममा कोषबाट जथाभावी खर्च गरिरहेको आरोप लगाउनुभयो ।
सामाजिक विकास मन्त्रालयले कोरोना कोषबाट प्राप्त भएको बजेट अस्पताल र मातहतका निकायलाई स्वास्थ्य उपकरण, औषधी खरिदका लागि निकासा गरेको जनाएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा रहेको कोष सञ्चालन समितिको निर्णयका आधारमा बजेट निकासा हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्