
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।
पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँगको छलफलको क्रममा मन्त्री नेम्वाङले विभागलाई निर्देशन दिनुभएको हो ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।
मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिनुभएको छ ।
त्यसैगरी यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्