१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा असार १५ सम्म निषेधाज्ञा थपियो, कपडा पसल पनि खोल्न पाइने


0
Shares

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जेठ ३१ सम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ सम्म थप्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेदेखि लागु हुने गरी असार १५ गते सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोभिड–१९ को संक्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थपिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टीजेन परीक्षण गरी बिहान ७ बजेदेखि १२ बजे सम्म खोल्न पाइने छ । साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने छ ।